Logo

आईपीओ जारी गर्न ‘बुलिस ट्रेण्ड’ कुर्दै अर्घाखाँची सिमेन्ट, निर्यातको लागि अन्तिम तयारी

आईपीओ जारी गर्न ‘बुलिस ट्रेण्ड’ कुर्दै अर्घाखाँची सिमेन्ट, निर्यातको लागि अन्तिम तयारी



काठमाडौं । नेपालको ठूला व्यवसायीक घरनाद्वारा संचालित अर्घाखाँची सिमेन्टले सेयर बजार बुलिस ट्रेण्डमा गएपछि मात्र सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । केही समयअघि कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी गरेपनि सेयर बजार वियरिस ट्रेण्डमा रहेका कारण तत्कालका लागि सो प्रक्रियामा स्थगित गरिएको कम्पनीका संचालक पशुपति मुरारकाले जानकारी दिए ।

‘हामीले केही समय अघि नै अर्घाखाँची सिमेन्टको सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी अघि बढाएका थियौं,’ उनले भने, ‘सेयरबजार दिनानुदिन घटिरहेको अवस्थामा सर्वसाधारणका लागि सेयर जारी गर्दा नकारात्मक सन्देश जाने भएकाले तत्कालका लागि रोकेका छौं ।’

तत्कालका लागि सर्वसाधारणका लागि सेयर जारी प्रक्रिया रोकेपनि बजार बढ्न थालेपछि प्राथमिक सेयर जारी गर्दै आफ्नो कम्पनीलाई नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत गराउने उनले बताए । नेपालको व्यवसायीक घरना सिद्धार्थ ग्रूप, केडिया ग्रूप र मुरारका ग्रूपद्धारा संचालित अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादन क्षमता बढाएर नाफामा गएसँगै सर्वसाधारणका लागि सेयर जारी गर्न लागेको थियो ।

घट्दो सेयर बजार तथा उत्पादनमुलक कम्पनीमाथी लगानीकर्ताले हेर्ने दृष्टिकोण नराम्रो भएका कारण तत्कालका लागि सेयर जारी प्रक्रिया नै रोक्नुपरेको मुरारकाको तर्क थियो । ५ बर्षअघि दैनिक ७ सय टनबाट सिमेन्ट उत्पादन सुरु गरेको अर्घाखाँची सिमेन्टले हाल आफ्नो उत्पादन क्षमता बढाए दैनिक ३ हजार टन पुर्याएको छ । साथै लगानी समेत बढाएर ७ अर्ब रुपैयाँ पुर्याइसकेको छ ।


तर बजारमा सिमेन्टको माग घटेका कारण हाल कम्पनी ५० प्रतिशत क्षमतामा मात्र चलेको र संघीयताले गर्दा करको भार समेत बढि भएका कारण कम्पनीको नाफामा समेत गिरावट आएको उनले बताए । ‘पहिला सेयर बजारको अवस्था राम्रो थियो भने कम्पनीको कमाई पनि राम्रो थियो तर पछिल्लो समय बजार घट्नु साथै विभिन्न अबरोधका कारण कम्पनीको नाफामा पनि गिरावट आएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा सेयर जारी गर्दा सर्वसाधारण ठगिन सक्छन त्यसैले बुलिस ट्रेण्ड कुरेर बसेका छौं ।’

सर्वसाधारणका लागि सेयर जारी प्रक्रियामा रहेको अर्घाखाँची सिमेन्टले भारतमा निर्यातको तयारी समेत थालेको छ । विशेषरी भारतको बिहार, उत्तर प्रदेश र वेष्ट बंगालमा आफ्नो सिमेन्टलाई निर्यात गरिने उनले जानकारी दिए । ‘ती स्थानमा क्लिङ्कर उत्पादन हुँदैन,’ उनले भने, ‘तसर्थ भारतका सो स्थानमा नेपाली सिमेन्ट निर्यातको उच्च सम्भावना छ हामीले पनि सोही अनुरुप तयारी थालेका छौं ।’

निर्यातका लागि कानूनी अड्चन

नेपालमा उत्पादन भएको सिमेन्ट भारतीय बजारमा निर्यातका लागि धेरै बाधाहरु रहेको उनको कथन थियो । सरकारले तोकेको सिमेन्टको एमजीओका कारणले गर्दा पनि नेपाली सिमेन्टलाई भारतीय बजारमा निर्यात गर्न कठिनाई भइरहेको उनले जानकारी दिए । साथै भारतले तोकेको गुणस्तर अनुसारको सिमेन्ट उत्पादन गर्न दिएर सोही अनुरुप निर्यातका लागि सहजिकरण गरिदिनुपर्ने मुरारकाको माग थियो ।

हाल कम्पनीले ओपीसी, पीएससी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । भारतीय बजारमा एमजीओ ६ भएको सिमेन्ट उत्पादन तथा बिक्री वितरण हुँदै आएको छ । तर, नेपालमा भने ४३ र ५३ ग्रेडको ५ एमजीओको सिमेन्ट मात्र उत्पादन गर्न पाइन्छ । त्यसरी सिमेन्ट उत्पादन गर्दा लागत बढी पर्ने भन्दै निर्यातका लागि सोही मापदण्डको सिमेन्ट उत्पादन गर्न पाउने उनको तर्क थियो ।
यसैगरी निर्यात हुने सिमेन्टका लागि सस्तो दरमा विजुली पाउनुपर्ने कम्पनीको माग छ । स्वदेशी बजारमा खपत हुने र निर्यात हुने सिमेन्टका लागि सरकारले फरक फरक विद्युत महशुल तय गर्नुपर्ने कम्पनीका प्रबन्ध संचालक राजेश अग्रवालले बताए ।

सहज र सहुलियत दरमा विद्युत आपूर्ति तथा तेस्रो मुलुकबाट सहज रुपमा कोइला आयात गर्न दिएमा नेपाली अर्घाखाँची सिमेन्टले भारतीय बजारमा प्रतिस्पर्धा गरेर निर्यात गर्न सक्ने उनको तर्क थियो । तर पछिल्लो समय आफुखुशी लगाइएको स्थानीय कर तथा सरकारले समयमै विद्युत नदिँदा थर्मल प्लाण्टबाट संचालन गर्नु परेका कारण कम्पनी नै धराशयी हुने अवस्थामा पुग्ने लागेको समेत उनले जानकारी दिए ।

हाल सो उद्योग संचालनका लागि २३ मेगावाट बिद्युत चाहिन्छ । तर सरकारले १० मेगावाट मात्रै उपलब्ध गराउँदै आएको छ । उद्योगका लागि थप विद्युत थर्मल प्लाण्टमा चलाउने गरेको उनले जानकारी दिए । साथै कम्पनीले सिमेन्ट उद्योगबाट निस्कने तातो वाफबाट १ मेगावाट विद्युत उत्पादन गर्दै आएको छ । उद्योगले वाफबाट साढे २ मेगावाट विद्युत उत्पादनगर्न सक्ने क्षमता भएपनि हाल १ मेगावाट मात्र विजुली उत्पादन गरेर प्रयोगमा ल्याएको छ ।

सरकारले माग अनुरुप विजुली नदिएकै कारण उद्योगले ५० करोडभन्दा बढीको लगानीमा थर्मप्लाण्ट र जेनेरेटर राख्नुपरेको उनको गुनासो थियो ।

प्रतिक्रिया दिनुहोस्