काठमाडौं । प्रदेश नम्बर १ आफैंले १ हजार ५ सय मेगावाट जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । राजधानीमा जारी ऊर्जा सम्मेलनको दोस्रो दिनको सत्रलाई सम्बोधन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफैले उक्त जलविद्युत आयोजना निर्माण गर्ने जानकारी दिएका हुन ।
प्रदेशले सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलमा आयोजना निर्माणको गर्न लागेको उनले बताएका हुन । नेपालको जलविद्युत्मा ३४ प्रतिशत उत्पादन क्षमता रहेको उक्त प्रदेश नेपालकै ऊर्जा क्षेत्रको अधिक संभावनको प्रदेश पनि हो । यहाँ रहेका अरुण, तमोरसहितका अन्य नदीहरुमा आकर्षक आयोजनाहरु छन् । यी आयोजनाहरुलाई प्रवद्र्धन गर्न प्रदेशले उपयुक्त वातावरण सिर्जना गर्ने भएको छ ।
जलविद्युत् उत्पादन मात्रै नभएर अरु ठूला पूर्वाधारमा लगानी भित्र्याउन प्रदेश १ ले २० वटा आयोजना तयार पारेको छ । ती आयोजना बनाउन प्रदेश सरकारले लगानी सम्मेलनको तयारी पनि गरिहेको मुख्यमन्त्री राईले बताए ।
प्रदेश १ मा हुने आयोजना निर्माण र पूर्वाधार विकासमा सहज तथा छोटो प्रक्रिया अवलम्बन गर्न प्रदेश सरकारले सहजीकरण गर्नेछ । यसका लागि एकद्वार प्रणालीबाट आयोजनाको काम अगाडि बढाइने छ ।
मुख्यमन्त्री राईले प्रदेशले १ हजार ५ सय मेगावाटका आयोजना आफ्नै कार्यकालमा तयार पार्ने गरी अगाडि बढेको उनले जानकारी दिए । यसका लागि एक देखि तीन वर्षभित्र पूरा हुने आयोजनालाई प्राथमिकता दिएर अगाडि सारिएको छ ।
आयोजना निर्माण हुने जग्गा प्राप्तिको समस्या, निर्माणमा सरकारले दिने सहजताका विषयमा एक महिनाभित्रै उपयुक्त निर्णय आउने छ । प्रदेश १ ले सार्वजनिक जग्गाको खोजी गरेको र सोको विवरण एक महिनाभित्रै आउने जानकारी पनि मुख्य मन्त्री राईले दिए ।