काठमाडौं– भारतीय सरकारको लगानीमा निर्माणाधिन अरुण– ३ जलविद्युत परियोजनाको २२ प्रतिशत काम सम्पन्न भएको छ । भारत सरकारको स्वामित्वमा रहेको एसजेवीएन कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले आईतवार उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनसँगको भेटमा उक्त जानकारी दिनुभएको हो ।
भेटमा मन्त्री पुनले सरकारले जलविद्युत क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको भन्दै समय सिमा भित्र नै अरुण– ३ परियोजना सम्पन्न हुने विश्वास व्यक्त गरेका छन । उनले नयां कार्यकारी अधिकृतलाई सफल कार्यकालको शुभकामना दिंदै आयोजना निर्माणमा समस्या देखिए सरकार सहजिकरण गर्न तयार रहेको बताएका छन ।
उर्जामन्त्रालयले जलविद्युत क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको र सुरक्षा प्रवन्धको व्यवस्था पनि मिलाईएको उर्जामन्त्री पुनले बताए । एसजेवीएनका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत धिमानले अरुण– ३ जलविद्युत परियोजना समयसिमा भित्र सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन । उनले सरकारको तर्फबाट सहयोग प्राप्त भइरहेको र स्थानिय जनताले समेत परियोजना निर्माणमा सहयोग गरिरहेको बताए ।
धिमानले टनेलको १२ प्रतिशत काम सहित परियोजनाको २२ प्रतिशत काम सम्पन्न भएको जानकारी दिएका छन । भेटमा मन्त्री पुनले टनेल,आयोजनाको अवस्था, सुरक्षा व्यवस्थालगायतको वारेमा चासो राखेका थिए । जवाफमा कार्यकारी अधिकृत धिमानले जग्गा अधिग्रहण, सुरक्षा अवस्था र परियोजनाको प्रगतीको वारेमा मन्त्री पुनलाई जानकारी दिएका थिए ।
उनले नेपालमा पछिल्लो समय लगानीको लागी राम्रो वातावरण बनेको बताएका छन । यस्तै उनले आफ्नो कम्पनी अन्य परियोजनामा समेत थप लगानीको लागी ईच्छुक रहेको बताएका छन ।
कम्पनीले ९ सय मेगावाट क्षमताको आयोजनाबाट उत्पादित कुल विद्युतको झन्डै २२ प्रतिशत बिजुली नेपाललाई निशुल्क उपलब्ध गराउने छ । उक्त आयोजनाको शिलान्याश प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । आयोजनाले उत्पादन थालेको २५ वर्षपछि उक्त परियोजना नेपालको स्वामित्वमा आउने गरी सरकारले सम्झौता गरेको छ ।