Logo

कुनै बेलाका रुग्ण विद्युत् आयोजना धमाधम पूरा हुँदै

कुनै बेलाका रुग्ण विद्युत् आयोजना धमाधम पूरा हुँदै



काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा यस साता सुखद खबर सार्वजनिक भयो । कुनै समय पार लगाउन नसकिने भनेर चिन्ता मात्रै व्यक्त गरिएका आयोजना धमाधम सम्पन्न भएका छन् ।

विगत ११ वर्षदेखि समस्यामा फसेको काबेली करिडोरको निर्माण सम्पन्न भयो । यस्तै विवादै विवादमा फसेर लामो समयदेखि अवरुद्ध रहेको माथिल्लो त्रिशूली थ्री ए को दोस्रो युनिट पनि सञ्चालनमा आयो ।

इमान्दार प्रयास भयो भने जतिसुकै समस्यामा फसेका आयोजना सम्पन्न हुन सक्छन् भन्ने तथ्यले स्थापित गरेको छ । रुग्ण बनेका आयोजना सफल बनाउन ठूलै मेहनत चाहिन्छ । राजनीतिक नेतृत्वदेखि कर्मचारीको समेत सकारात्मक प्रयासले काम गर्छ ।

सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा स्थापित गरेको छ । महत्वका हिसाबले अग्रपङ्क्तिमा रहेका आयोजनाको सानो सफलताले पनि ठूलो अर्थ राख्छ । सरकारले काम गरेन, गफ मात्रै लगाएर बस्यो भन्नेका लागि पनि पछिल्ला दिनका सुखद खबर राम्रै जवाफ हुन सक्छ ।

ऊर्जामा गरिएको लगानीले आजको भोलि प्रतिफल दिँदैन । त्यसका लागि केही समय लाग्छ । प्रसारण लाइनमा हरेक टावर एउटा आयोजना बनिदिन्छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्रसारण लाइन निर्माणको सबैभन्दा जटिलता भनेकै हरेक टावर एउटा आयोजना जस्तै कठिन बन्नु र बनाइनु नै हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको स्पष्ट मार्गदर्शन र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको नियमित खटाइले रुग्ण आयोजना सम्पन्न भएका हुन् । कहिले क्षमता वृद्धि, कहिले गोरखा भूकम्प तथा कहिले निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण समस्यामा फसेको र प्राधिकरणको समेत टाउको दुखाइको विषय बन्दै आएको माथिल्लो त्रिशूली थ्री ए को दोस्रो युनिट बुधबारदेखि परीक्षण उत्पादन शुरु गरेको छ ।

गत चैतको दोस्रो सातादेखि नै पहिलो युनिटबाट विद्युत् उत्पादन शुरु भएको सो आयोजनाको दोस्रो युनिटसमेत सञ्चालनमा आएको हो । दोस्रो युनिट सञ्चालनमा आएपछि त्रिशूली करिडोरबाट मात्रै ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप भएको छ ।

लामो प्रयासपछि प्राप्त भएको सफलताले प्राधिकरणको नेतृत्व र आयोजनालाई समेत हर्षित तुल्याएको छ । रुग्ण भएको आयोजनालाई मन्त्रालयको सार्थक नेतृत्व, प्राधिकरणको कामकारवाही परिचालन तथा आयोजना प्रमुखको निरन्तरको प्रयत्नपछि माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजनामा सफलता मिलेको हो ।

रुग्ण आयोजनालाई लयमा ल्याउन सानो प्रयासले मात्रै सफल हुने अवस्था थिएन । हरेक दिनजसो प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजना प्रमुख फणीन्द्रराज जोशीसँग रिपोर्ट लिने गरेका थिए । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनामा के भइरहेको छ भन्ने चासो व्यक्त गर्ने र विवरण खोजी गर्ने कामलाई निरन्तर अगाडि बढाएका छन ।

निरन्तरको प्रयासपछि मात्रै सफलता हासिल हुन्छ भनेजस्तै मन्त्रालय, प्राधिकरण र सम्बन्धित आयोजनाको लामो प्रयत्नपछि माथिल्लो त्रिश्ूली थ्री ए सफल भएको छ । आयोजनास्थलबाट काठमाडौँको मातातीर्थसम्मको २ सय २० केभी प्रसारण लाइनको निर्माण सकिएर विद्युत् प्रवाह भइरहेको छ ।

आयोजना प्रमुख फणिन्द्रराज जोशीका अनुसार ७२ घण्टासम्म परीक्षण उत्पादन गरेपछि आयोजनालाई बन्द गरि कसरी अगाडि बढाउने भन्ने निर्णय गरिनेछ । आयोजना पूर्णरूपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलुकभित्र खपत हुने ऊर्जामा सो आयोजनाको करीब आठ प्रतिशतको योगदान रहने बताइएको छ ।

अनुमानित लागत १२ अर्ब ६० करोड रुपैयाँ (१२ करोड ५८ लाख डलर) रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । इञ्जिनीयरिङ, खरीद र निर्माण (इपिसी) ढाँचामा विद्युतगृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्ने गरी चिनियाँ कम्पनी गेजुवासँग २०६७ जेठ १४ गते ठेक्का सम्झौता भएको थियो ।

शुरुमा विसं २०७१ जेठ १७ सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । शुरुमा चिनियाँ कम्पनीसँग ८ अर्ब ९१ करोड ७८ लाख रुपैयाँ (आठ करोड ९१ लाख ७८ हजार डलर) मा ठेक्का सम्झौता भएको थियो । शुरुमा विद्युत गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णयलगायतका कारणले आयोजनाको निर्माण ढिलाइ भएपछि २०७३ साल असार १६ सम्म म्याद थप भएको थियो ।

‘गोरखा भूकम्प’ को कहरले आयोजनाको निर्माण तालिका झनै प्रभावित हुन पुग्यो । भूकम्प र पहिरोले काबु बाहिरको परिस्थिति उत्पन्न भएपछि प्राधिकरणले आयोजनाको म्याद गत असार मसान्तसम्म थप गरेको थियो । लामो प्रयासपछि आयोजना सफल भएका कारण रुग्ण आयोजना मात्रै बोकेर प्राधिकरण बस्छ भन्ने आम गुनासोबाट समेत मुक्ति मिलेको छ ।

तोकिएको समयमा विद्युत दिन नसकेपछि प्राधिकरणको ५ प्रतिशत हर्जनामा परेको माउण्टेन हाइड्रो पावरले निर्माण गरेको २२ मेगावाट क्षमताको तल्लो हेवा जलविद्युत आयोजनाले व्यावसायिक विद्युत् उत्पादन शुरु गरेको छ । यसले प्रदेश नं १ को विद्युत् व्यवस्थापनमा सहयोग पुग्ने प्राधिकरणको विश्वास छ ।

यस्तै पटकपटक आयोजना प्रमुख फेरिँदासमेत काम अगाडि नबढेको र समस्यै समस्याको उल्झनमा परेको १३२ केभी क्षमताको काबेली करिडोर प्रसारण लाइनकोसमेत निर्माण सम्पन्न भएको छ ।

आयोजना प्रमुख दीपेन्द्ररराज द्विवेदीका अनुसार प्रसारण लाइन निर्माण शतप्रतिशत सम्पन्न भएको छ । जग्गाप्राप्ति, वन क्षेत्रको जग्गा प्रयोग र स्थानीयवासीले गरेको अवरोधलाई विश्वासमा लिएर आयोजना सम्पन्न गराउनु ठूलै चुनौती थियो । आयोजना प्रमुख द्विवेदी भन्छन, ‘मलाई त ठूलो काम सम्पन्न गरे जस्तो लागेको छ । असाध्यै खुशी पनि छु ।’ उनले दुई दिनभित्र प्रसारण लाइनको परिक्षण गरिने जानकारी दिएका छन ।

कूल २ अर्ब ७४ करोड रुपैयाँ लागतमा सम्पन्न भएको सो प्रसारण लाइनले पाँचथरमा उत्पादन भएको विद्यतलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सकिनेछ । दर्जनौँ पटकको छलफल, स्थानीयवासीको विश्वास तथा प्राधिकरणको उच्च नेतृत्वको मेहनत र आयोजना प्रमुखको मेहनतले रुग्ण जस्तै बनेको काबेली करिडोरले सफलता पाएको छ ।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा कूल १४ वटा प्रसारण लाइन निर्माण सम्पन्न भएका छन । कूल १ सय ३२ केभी लम्की–महेन्द्रनगर डबल सर्किट, मस्र्याङ्दी–मध्यमस्र्याङ्दी डबल सर्किट, भक्तपुर–चपली–बालाजु , कुसुम–हापुरे, चमेलिया–स्याउले–अत्तरीया, रक्सोल–परवानीपुर क्रस बोर्डर, कुशाहा–कटैयाँ क्रस बोर्डर, डुम्रे दमौली, लमही घोराही, गोदक–फिदिम, कुश्मा–तल्लो मोदी प्रसारण लाइन निर्माण सम्पन्न भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

यस्तै ४००÷२०० केभी क्षमताको ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर डबल सर्किट लाइन र खिम्ती–ढल्केबर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । यस्तै ६६ केभी क्षमताको न्यू चाबहिल–लैनचौर लाइन भूमिगत गरिएको छ । प्राधिकरणले हाल प्रसारण लाइन र सबस्टेसन निर्माणलाई तीव्र पारेको छ । गुणस्तरीय र भरपर्दाेरुपमा विद्युत् आपूर्ति गर्न प्रसारण लाइन र सबस्टेसनको निर्माण तथा स्तरोन्नतिलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

प्राधिकरणले चालू आर्थिक वर्षमा चार हजार चार हजार मेगावाट विद्युत् प्रसारण हुने गरी प्रसारण लाइन र सबस्टेसन बनाउने लक्ष्य राखेको छ । यस्ता महत्वाकाङ्क्षी लक्ष्यले सरकारको सोच र चाहनालाई मूर्त रुप दिई आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्नेछ । रमेश लम्साल/रासस

प्रतिक्रिया दिनुहोस्