काठमाडौं । उद्योग विभागले विभिन्न १० मदिरा उद्योगलाई ७ दिने अल्टिमेटम सहित पत्र काटेको छ । ती उद्योगहरु विरुद्ध कम्पनी दर्ता बदर, ट्रेडमार्क दर्ता खारेज तथा ट्रेडमार्क चोरीको विषयमा उजुरी परेपछि विभागले ७ दिने अल्मिेटम सहित पत्र काटेको हो ।
आफ्नो लोगो तथा ट्रेकमार्कमा नक्कल तथा उस्तै कम्पनी दर्ता गरेपछि जाउलाखेल ग्रूप अन्तरगतका विभिन्न डिष्टीलरीले विभागमा उजुरी हालेका थिए । सोही अनुरुप विभागले ट्रेडमार्क चोरी तथा ब्राण्डमा नक्कल गर्ने कम्पनीमाथी उजुरी दिएको थियो । सोही आधारमा विभागले पटक पटक सूचना जारी गरेपनि हालसम्म कुनै प्रतिक्रिया नआएकाले पछिल्लो पटक ७ दिने सूचना जारी गर्दै कानूनी कारबाही अघि बढाउने जानकारी दिएको छ ।
जस अन्तरगत हिमालयन डिष्ट्रलरी, एशियन डिष्ट्रिलरी, राज ब्रुअरी, बिजय डिष्ट्रिलरीले विभिन्न १० वटा मदिरा उद्योग विरुद्ध उजुरी दिएका थिए । सोही आधारमा विभागले न्यू एभरेष्ट डिष्टिलरी उद्योगको दर्ता बदर गर्ने भएको छ भने वेष्टर्न लिक्यर्स, ओम डिष्ट्रिलरी, चण्डिका डिष्ट्रिलरी र यति डिष्ट्रिलरी विरुद्ध ट्रेडमार्क दर्ता खारेजी गर्नका लागि उजुरी परेको छ ।
यस्तै ओम शिव लक्ष्मी डिष्ट्रिलरी, ओम ब्रुअरी र वेष्टर्न लिक्यर्स विरुद्ध दावि विरोध सम्बन्धी उजुरी परेको छ । विभागका अनुसार छिरेश्वर डिष्ट्रिलरी र भोले बाबा लिक्यर्स विरुद्ध ट्रेडमार्क नक्कल र सनराईज लिक्वेर्स विरुद्ध ट्रेडमार्क दावी विरोधको उजुरी परेको छ । यी सबै कम्पनीहरुलाई ७ दिनको अल्टिमेटम पछि कार्वाहीको तयारी गरिएको विभागले सुचनामा उल्लेख गरेको छ ।