Logo

तल्लो मोदीखोला जलविद्युत आयोजनामा तालाबन्दी, स्वत स्थाई गर्नु पर्ने कर्मचारीको माग

तल्लो मोदीखोला जलविद्युत आयोजनामा तालाबन्दी, स्वत स्थाई गर्नु पर्ने कर्मचारीको माग



काठमाडौं । परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको निर्माणाधीन तल्लो मोदी जलजविद्युत आयोनामा तालाबन्दी गरेको छ । २० मेघावाट क्षमताको उक्त जलविद्युत आयोजनामा कार्यरत मजदुर तथा कर्मचारीहरुले बिभिन्न माग राख्दै तालाबन्दी गरेका हुन ।

निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने लगायतका माग राखेर कुश्मा नगरपालिका–७ स्थित कार्यालयमा तालाबन्दी गरेका छन् भने विद्युतगृह, हेडबक्स र सुरुङमा भइरहेको निर्माणकार्यसमेत ३ दिनदेखि बन्द गराएका छन् । आयोजनाले असार पहिलो साता परीक्षण उत्पादन थाल्ने तयारी गरेको थियो ।

निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरेको आयोजनामा कार्यरत कामदारले स्वतः स्थायी गर्नुपर्ने, प्रभावित क्षेत्रका बासिन्दालाई नै स्थायी रोजगारीको व्यवस्था हुनुपर्ने र विद्युतगृहलगायतका संरचना निर्माणमा पछिल्लो समय राखिएका कर्मचारी र कामदारलाई स्थायी गर्न नपाउने आयोजनासँग माग राखेका छन् । आयोजनामा कार्यरत ४० कर्मचारीले यही जेठ २० देखि काम बन्द गराएपछि निर्माणकार्य प्रभावित भएको छ ।

‘सुरुदेखि निर्माणकार्यमा कार्यरत कर्मचारीलाई थाहै नदिइ बाहिरबाट कर्मचारी राख्ने काम भएको छ, कर्मचारी सौरभ पौडेलले भने, ‘हामीलाई स्थायी गर्ने कुरा पटक–पटक झुटो आश्वासन दिएका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको हो ।’ कर्मचारीले यसअघि यही जेठको ८ देखि १२ गतेसम्म पनि तालाबन्दी र काम ठप्प पारेका थिए । तर, तालाबन्दीपछि २० गते समस्या समाधान गर्ने सहमति गरे पनि कार्यान्वयन नहुने स्थिति देखएपछि पुनः तालाबन्दी गरेको पौडेलले बताए ।

आयोजनाले भने कुनै पनि कर्मचारीलाई स्थायी नगरिएको र विद्युत् उत्पादन थालिएपछि प्रक्रिया पूरा गरेर मात्रै स्थायी गर्ने योजना रहेको जानकारी दिएको छ ।

आयोजना प्रमुख पवनकुमार यादवका अनुसार अहिले परीक्षण उत्पादनको तयारीमा रहेका बेला केही दक्ष कर्मचारीलाई सहयोगीका रुपमा राखेर काम गराइएको हो तर स्थायी गरिएको छैन । उनले भने, ‘हामीले कसैलाई पनि स्थायी गरेका छैनौं ।’ विद्युत् उत्पादनपछि मात्रै सुचना प्रकाशित गरी स्थायी गर्ने प्रक्रिया सुरु गर्ने पौडेलले जानकारी दिएका छन । अहिले कार्यरत कर्मचारीलाई नै प्रक्रियामा पनि प्राथमिकता दिने आयोजनाको उद्देश्य रहेको छ ।

निजी क्षेत्रको मोर्दी इनर्जी लिमिटेडले निर्माण गरिरहेको टनेल परीक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भइरहेको छ । वैशाखको अन्तिम साता परीक्षणका लागि टनेलमा पानी पठाउँदा धेरै ठाउँबाट चुहिएपछि मर्मतको काम भइरहेको छ । कुश्मा नगरपालिका–७ चुवाको परादीस्थित पावरहाउसदेखि मोदी गाउँपालिकाको पातीचौरसम्म खनिएको ४ हजार २ सय मिटर लामो टनेलको बीचबीचमा कमजोर भू–भाग भेटिएको थियो ।

तालाबन्दीका कारण मर्मतको काम रोकिएको छ । हेडबक्समा ढोका मर्मत गर्ने र परीक्षण गर्ने काम चलेको थियो भने विद्युतगृहमा जेनेरेटरलगायतका सामग्री जडान र परीक्षणकै क्रममा रहेको छ । कर्मचारीको आन्दोलनका कारण परीक्षण उत्पादन झन् ढिलाइ भएको आयोजना प्रमुख यादवले बताए ।

विसं २०६९ साउनमा निर्माण सुरु गरिएको आयोजनाको उत्पादन लक्ष्य २०७४ असारमा थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सार्दै आईरहेको छ । अघिल्लो असार मसान्तभित्र उत्पादन गर्ने भनिए पनि पूर्वाधारतर्फ काम नसकिएको र टनेलभित्र केही समस्या आएका कारण ढिलाइ भएको आयोजनाले जनाएको थियो /रासस

प्रतिक्रिया दिनुहोस्
MBL