काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६ आयोजना हुने भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको सह–आयोजनामा ५ दिनसम्म चल्ने उक्त प्रदर्शनी भृकुटीमण्डपमा हुने भएको हो ।
‘आर्थिक समृद्धिका लागि उद्योग खोलौं, औद्योगिकरणका लागि सबै जुटौं’ भन्ने मूल नाराका साथ आयोजना गरिन लागेको उक्त प्रदर्शनीमा १ लाख ५० हजार जनाले अवलोकन गर्ने महासंघले अनुमान गरेको छ । २०४२ सालमा १६ वटा जिल्लाका १६ जना उद्यमीहरुलाई भृकुटिमण्डपमा भेला पारि घरेलु तथा साना उद्योग विकास समितिले सरकारी तबरबाट केन्द्रियस्तरमा शुरु गरेको सानो औद्योगिक प्रदर्शनी विभिन्न आरोह अवरोह पार गर्दै ३० औँ श्रृङ्खलामा आइपुगेको उद्योग विभागका महानिर्देशक विनोदप्रकास सिंहले जानकारी दिए ।
महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले हालसम्म चार लाख १८ हजार ५२ घरेलु र साना उद्योगहरु दर्ता भएको भए तापनि आर्थिक वर्ष २०७४÷७५ सम्मको तथ्याङ्क हेर्दा मुलुकभर दर्ता कायम रहेका घरेलु तथा साना उद्योगहरुको संख्या ३ लाख २१ हजार १३ देखिएको बताउँदै तीमध्ये घरेलु उद्योगको संख्या १७ हजार २ सय ८९ रहेको जानकारी दिए ।
प्रदर्शनीमा जम्मा २ सय लघु घरेलु तथा साना उद्योगका उत्पादनहरुको स्टल रहने छन् जसमध्ये ७७ जिल्लाबाट प्रति जिल्ला कम्तीमा एक उद्यमीको सहभागिता सुनिश्चिता गरिएको छ ।
प्रदर्शनी अवधीमा १ लाख ५० हजारले अवलोकन गर्ने र पाँच करोड भन्दा बढिको आर्थिक कारोबार हुने महासंघले जानकारी दिएको छ ।
नेपालका ७७ वटै जिल्लाका लघु घरेलु तथा साना उद्यमीहरुको सहभागिता रहने यस प्रदर्शनीमा प्रदेशस्तरीय उत्पादनहरुको छुट्टै प्याभिलियन रहने, महिला उद्यमशीलता प्रदर्शनी तथा उत्कृष्ट उद्यमीहरुलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ।