Logo

काठमाडौँमा पाँच हजार साना उद्योग दर्ता, ८ महिनामै ७ सय उद्योग दर्ताका लागि आवेदन

काठमाडौँमा पाँच हजार साना उद्योग दर्ता, ८ महिनामै ७ सय उद्योग दर्ताका लागि आवेदन



काठमाडौं । देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो छ । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएसँगै काठमाडौँ जिल्लामा पनि साना तथा घरेलु उद्योग दर्ता गर्ने क्रम बढेको हो ।

घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँका अनुसार चालू आर्थिक वर्षमा मात्र चार हजार ७ सय ७ नयाँ उद्योग दर्ताका लागि आवेदन परेको छ । कार्यालयका सूचना अधिकारी सुनिता तुम्बाहाम्फे मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएकाले साना तथा घरेलु उद्योग दर्ता हुने क्रम बढेको बताउँछन ।

संविधान निर्माणसँगै बनेको स्थायी सरकारसँगै देशमा लगानीको वातावरण बनेको र उद्योग दर्ता गर्ने क्रम बढेको उनको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता गर्ने क्रम बढेको तुम्बाहाम्फेले बताईन । साना तथा घरेलु कार्यालय काठमाडौँका अनुसार पशुपालन, कृषि, होटल, रेष्टुरेन्ट, ब्यूटीपार्लर, बेकरी, ग्रील उद्योगलगायतका क्षेत्रमा बढी उद्योग दर्ता भएका छन् । ‘पछिल्लो समय सबै सवारीसाधनलाई कम्पनीमा जान सरकारले यातायात व्यवसायीलाई परिपत्र गरेसँगै ट्याक्सीसमेत उद्योगमा दर्ता हुन आएका छन’, सूचना अधिकारी तुम्बाहाम्फे भन्छीन ।

पछिल्लो समय काठमाडौँभित्रका नगरपालिका रहेका स्थानमा साना तथा घरेलु उद्योग धेरै दर्ता हुँदै आएको कार्यालयले जनाएको छ जसले गर्दा त्यसभित्रका युवामा उद्योगी बन्न हौसला मिलेको कार्यालयको भनाइ छ । कार्यालयले साउन, भदौ, असोज र कात्तिकमा १ हजार ४५, मङ्सिरमा ६ सय ३७, पुसमा १ हजार १ सय ७०, माघमा ४ सय ९३, फागुनमा ५ सय ६९ र चैतमा ७ सय ९३ उद्योग दर्ता गरेको छ ।

कार्यालयले ४ अर्ब ६२ करोड ६६ लाख ७४ हजार बराबरको उद्योग दर्ता गरेको जनाएको छ । जसमध्ये साउन, भदौ, असोज र कात्तिकमा ६१ करोड ५७ लाख रुपैयाँ, मङ्सिरमा २८ करोड ७४ लाख ५० हजार, पुसमा ४६ करोड १५ लाख, माघमा २० करोड २२ लाख, फागुनमा १ अर्ब १७ करोड ९४ लाख र चैतमा १८ करोड ८० लाख ३८ हजार रुपैयाँ बराबरको उद्योग दर्ता भएका हुन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष एवं उद्योगी नरेश कटुवाल सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न घरेलु तथा साना उद्योगको विकास गर्नुपर्ने बताउछन । ‘सरकार ठूला उद्योगी तथा व्यवसायीको पहुँचमा रहेकाले साना तथा मझौला उद्योगी पछाडि परेका छन’ उनले भने । सरकारले राखेको सुखी नेपालीको लक्ष्य पूरा गर्न घरेलु तथा साना उद्योगीलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

सरकारले १० करोडभन्दा कम लगानी भएका उद्योगलाई साना तथा घरेलु उद्योगका रूपमा दर्ता गर्दै आएको छ । विदेशी लगानीका ठूला, मझौला तथा साना उद्योग उद्योग विभागबाट दर्ता हुँदै आए पनि स्वदेशी उद्योग भने साना तथा घरेलु उद्योग कार्यालयबाट दर्ता गरिँदै आएको छ । हाल साना तथा घरेलु उद्योग प्रदेश सरकारअन्तर्गत जिल्ला कार्यालयबाट दर्ता हुने गरेको छ । घरेलु तथा साना उद्योग कार्यालयले महिला उद्यमीलाई दर्तादेखि व्यवसाय गर्न सहुलियत प्रदान गर्दै आएको जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्