Logo

१५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु, नेपाली उत्पादन प्रयोगमा जोड

१५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु, नेपाली उत्पादन प्रयोगमा जोड


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । १५ औं अन्तरराष्ट्रिय औद्योगिक ब्यापार मेला तथा घरेलु उद्योग महोत्सव सुरु भएको छ । शुक्रबार एक कार्यक्रम गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त मेलाको उद्घाटन गरेकी हुन ।
उद्घाटन कार्यक्रममा बोल्दै बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले लघु, घरेलु तथा साना उद्योगहरूको मुलुकको आर्थिक समृद्घिका लागि ठूलो योगदान रहेको जानकारी दिएका छन ।

उनले समृद्घिको मुख्य आधार नै साना उद्योग भएको भन्दै मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने बताएका छन ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारको नारालाई पुरा गर्नका लागि यस्ता उद्योगहरुको प्रवद्र्घन, विकासमा ध्यान दिनुपर्ने आवश्यकता रहेको उनको भनाई थियो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले मुलुकभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगको उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०५८ सालबाट नेपाल घरेलु तथा साना उद्योग महासंघले शुरु गरेको औद्योगिक प्रदर्शनी विभिन्न आरोह अवरोह पार गर्दै यसपटक १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योेग महोत्सव र तेश्रो प्रांगारिक कृषि मेला–२०७५ को नामबाट सञ्चालन भएको बताए ।

मुलकले अहिले वार्षिक १२ खर्ब भन्दा बढीको वैदेशिक व्यापार घाटा व्यहोरिरहेको भन्दै उनले एकातिर हामी दैनिक उपभोग्य बस्तुका सामान समेत विदेशबाट आयात गरिरहेका छौं भने अर्कोतिर हाम्रा निर्यातयोग्य उत्पादन समेत निर्यात गर्न नसकिरहेको उनको भनाई थियो ।
पाँच दिनसम्म चल्ने मेलामा २ सय ५ वटा स्टल रहेका छन ।

उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योगहरु सहभागी रहेको उक्त मेलामा चीन, भारत र वंगलादेश गरी ४५ वटा अन्तर्राष्ट्रिय स्टल रहेका छन । पाँच दिनको अवधिमा करिब चार लाख ५० हजारले अवलोकन गर्ने र झण्डै १५ करोडको कारोबार हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्