काठमाडौं । नेपाल विद्युत प्राधिकरण र अपि पावर कम्पनी लि बीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता ‘पीपीए’ सम्पन्न भएको छ । उक्त सम्झौतामा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट कार्यकारी सञ्चालक संजिव न्यौपानेले हस्ताक्षर गरेका छन ।
प्रदेश न. ७ को दुर्गम जिल्ला दार्चुलामा कम्पनीले निर्माण गर्न लागेका अपर चमेलिया जलविद्युत आयोजना तेस्रो हो । यस अघि कम्पनीले ८ दशमलव ५ मेगावाट क्षमताको नौगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत ३ बर्ष देखि निरन्तर रुपमा राष्ट्रिय ग्रीड प्रणाली विद्युत प्रवाह गर्दै आएको छ ।
कम्पनीले निर्माण गरिरहेको दोस्रो आयोजना अपर नौगाढ गाड जलविद्युत आयोजना(८.०)को निमाणर््ा पुरा गरि आगामी चैत मसान्त भित्र विद्युत उत्पादन शुरु हुनेछ । कम्पनीले सम्पन्न गरेका आयोजनाहरु नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया–बलाँच १ सय ३२ केभि डवल सर्किट ट्रान्समिसन लाइनमा जडान गरिनेछ ।
यो अपर चमेलिया जलविद्युत आयोजनाबाट (४० मेगावाट) बार्षिक २६ दशमलव ४१ करोड युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत मध्ये ३३ प्रतिशत हिउँदका ६ महिनाहरुमा र बाँकी ६७ प्रतिशत बर्षात महिनाहरुमा उत्पादन हुनेछ । यो आयोजना टेक अर पेमा आधारित छ । कम्पनीले उत्पादन अनुमति प्राप्त गरि २०७६ सालबाट निर्माण सुरु गरी ३ बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोछ ।
अहिले देशमा निर्माणाधिन अधिकांश जलविद्युत आयोजनाहरु ट्रान्समिशनलाईनको अभावले समस्याग्रस्त बन्दै गएका छन । सुदुरपश्चिममा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको १ सय ३२ केभि डबल सर्किट ट्रान्समिसन लाइनमा जडान हुने भएकोले विद्युत प्रवाहको कुनै समस्या नरहेको कम्पनीका कार्यकारी संचालक सञ्जीव न्यौपानेले जानकारी दिए । यो आयोजनाको निर्माण पश्चात् प्रदेश नं. ७ मा विद्युत आपुर्ती बढ्न गई भारतबाट विद्युत आयात गर्नु पर्ने अवस्थाको अन्त्य हुनेछ ।
उक्त आयोजनामा नेपाल विद्युत प्राधिकरणद्वारा निर्माण गरिएको चमेलिया जलविद्युत आयोजनाको विद्युत गृह भन्दा १५ किलोमिटर माथि अवस्थित छ । दुर्गम जिल्लामा निर्माण हुने यस आयोजनाको लागत प्रति मेगावाट १८ करोडको हिसाबले आयोजनाको कुल लागत ७ अर्ब २० करोड रुपैयाँ लाग्ने अनुमान छ ।