Logo

सिमेन्ट उद्योगमा साढे १९ अर्बको लगानी प्रतिबद्धता, १७ सय ५० जनालाई रोजगारी दिने

सिमेन्ट उद्योगमा साढे १९ अर्बको लगानी प्रतिबद्धता, १७ सय ५० जनालाई रोजगारी दिने



काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा सिमेन्ट उद्योगमा मात्रै निजी क्षेत्रले १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारले अगाडि सारेको आर्थिक समृद्धिको नारालाई पूरा गर्ने र १ हजार ७ सय ५० जनालाई रोजगारी दिने लक्ष्यका साथ उद्योग स्थापनाको प्रतिबद्धता आएको हो ।

उद्योग विभागमा दर्ता भएका उद्योगको आधारमा पछिल्लो समय निजी क्षेत्र सिमेन्ट उद्योग स्थापनाका लागि आकर्षित भएको र ठूलो मात्रामा लगानी गर्न तयार भएको देखिएको छ । खाना पकाउने ग्यासको व्यवसाय गर्दै आएका उद्योगी शिवप्रसाद घिमिरेसहित नयाँ उद्योगीले समेत सिमेन्ट उद्योगमा लगानी गर्ने इच्छा देखाएका हुन् ।

विभागको विवरणअनुसार पछिल्लो दिनमा झापाको तोपगाछीमा ए प्लस सिमेन्ट उद्योग स्थापना गर्ने भन्दै उद्योगी गुणराज खत्रीले आवेदन दिएका छन । कूल पूँजी ४० करोड ८० लाख रुपैयाँ बराबरको लगानी गर्ने लक्ष्य राखिएको छ । सो उद्योगले ६ हजार मेट्रिक टन पिपिसी र ६ हजार मेट्रिक टन ओपिसी सिमेन्ट उत्पादन गर्ने र ६० जनालाई रोजगारी दिने छ ।

यस्तै स्याङजाको वालिङ–१ मा अथर्व सिमेन्ट उद्योग स्थापना गर्ने गरी उद्योगी पिताम्बर गैरेले विभागमा उद्योग दर्ता गराएका छन । उद्योगमा कूल पूँजी १ अर्ब ५० करोड रुपैयाँ बराबरको लगानी हुनेछ । सो उद्योगले २५० जनालाई रोजगारी दिनेछ । उद्योगले १ लाख ५० हजार मेट्रिक टन ओपिसी, १ लाख ५९ हजार मेट्रिक टन पिपिसी र ८८ हजार ९ सय ८० मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने छ ।

कपिलवस्तुको शिवराज नपा–८ मा उद्योग स्थापना गर्ने गरी उद्योगी राहुलकुमार अग्रवालले सिनर्जी सिमेन्ट प्रालिले विभागमा उद्योग दर्ता गराएका छन । सो उद्योगमा ९ अर्ब ७८ करोड ५८ लाख ९५ हजार रुपैयाँ बराबरको लगानी गरिनेछ । उद्योगले ३ सय ९९ जनालाई रोजगारी दिनेछ ।
विभागमा प्रस्तुत गरिएको विवरणअनुसार उद्योगले ८ लाख ३८ हजार २ सय मेट्रिक टन ओपिसी र ३ लाख ३० हजार मेट्रिक टन पिपिसी सिमेन्ट उत्पादन गर्नेछ ।

यस्तै हाल सञ्चालनमा रहेको मारुती सिमेन्ट उद्योगले सिरहा गोलबजार–९ मा सोही उद्योगको नयाँ शाखा उद्योग स्थापना गर्ने भएको छ । सो उद्योगले २ अर्ब ५७ करोड ८८ लाख २५ हजार रुपैयाँ बराबरको लगानी गर्नेछ । उद्योगले ५ सय ८७ जनालाई रोजगारी दिनेछ ।

यस्तै उद्योगी देवीप्रसाद मैनालीले झापा हल्दिबारीमा उद्योग स्थापना गर्ने तयारी गरिएको छ । उद्योगले ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ । कूल ७६ जनालाई रोजगारी दिने लक्ष्य राखेको उद्योगले १ लाख ५० हजार मेट्रिक टन ओपिसी र १ लाख मेट्रिक टन पिपिसी सिमेन्ट उत्पादन गर्नेछ ।

यस्तै ग्याँस व्यवसायी शिवप्रसाद घिमिरेले पनि गरुड सिमेन्ट उद्योग स्थापना गर्ने तयारी गरेका छन । कूल ३७८ जनालाई रोजगारी दिने लक्ष्यसहित सो उद्योगमा व्यवसायी घिमिरेले कूल पूँजी ४ अर्ब ८९ करोड १७ लाख ९२ हजार ५ सय रुपैयाँ लगानी गर्ने भएको छ । उद्योगले ६ लाख २३ हजार ७०० मेट्रिक टन ओपिसी सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

सरकारले लिएको नीतिका कारण नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । सो उद्योगमा २ खर्बको लगानी भएको र वार्षिक १ खर्ब ५० अर्बको कारोवार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यसै वर्षदेखि आत्मनिर्भर भएको हो । निजी क्षेत्र प्रवेश भएको झण्डै १६ वर्षको अन्तरालमा आत्मनिर्भरमा पुगेको बताउँदै नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुवराज थापाले अर्को वर्षदेखि नेपाल सिमेन्ट निर्यात गर्ने अवस्थामा पुग्ने बताएका छन ।

नेपालमा सन् १९६० देखि सिमेन्ट उत्पादन सुरु गरिएको हो । नेपालमा हिमाल सिमेन्टले पहिलो उत्पादन सुरु गरेको थियो । निजी क्षेत्रबाट भने १६ वर्ष पहिलेदेखि मात्रै लगानी सुरु गरिएको हो । नेपालमा हाल ५६ सिमेन्ट उद्योगले उत्पादन गर्दै आएका छन् । उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारी स्वामित्वको हो ।

नेपालमा गत वर्ष ९० लाख टन सिमेन्ट उत्पादन भएको र झण्डै त्यति नै खपत भएको छ । नेपालका उद्योगको क्षमता भने एक करोड ३० लाख टन रहेको छ । विश्वमा सिमेन्टको कूल उत्पादन वार्षिक ४ अर्ब २० करोड टन रहेकामा सबैभन्दा बढी चीनले सिमेन्ट उत्पादन गर्दै आएको छ । कूल उत्पादनको ५५ प्रतिशत चीनले उत्पादन गर्ने गरेको छ । खानी तथा भूगर्भ विभागका अनुसार १६८ उद्योगलाई उत्खनन अनुमति दिइएको र ४० वटालाई उत्खनन अनुमतिको प्रक्रियामा रहेको छ ।रमेश लम्साल /रासस

प्रतिक्रिया दिनुहोस्