Logo

एक वर्षमा २ अर्ब रुपैयाँ कमायो उदयपुर सिमेन्टले, २४ लाख बोरा सिमेन्ट बिक्री

एक वर्षमा २ अर्ब रुपैयाँ कमायो उदयपुर सिमेन्टले, २४ लाख बोरा सिमेन्ट बिक्री



काठमाडौं । नेपालको एकमात्र सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले एक वर्षमा झण्डै २ अर्ब रुपैयाँ भन्दा बढी मूल्यको सिमेन्ट बिक्री गरेको छ ।

सिमेन्ट उद्योगले २०७४ को साउन महिनादेखि २०७५ को असारको पहिलो हप्तासम्ममा उद्योगले २ अर्ब २२ करोड २७ लाख ९६ हजार रुपैयाँ मूल्यको सिमेन्ट बिक्री गरेको हो ।

विद्युत भार कटौतीको मार ब्योहोर्दै आएको उद्योगले आफ्नै प्रयास र कठिन परिश्रमबाट यस वर्ष १ लाख २९ हजार ५ सय मेट्रिक टन अर्थात २४ लाख ६ हजार ९ सय बोरा सिमेन्ट उत्पादन गरेर नयाँ रेकर्ड राखेको उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले बताएका छन । उत्पादित सिमेन्टको मूल्य २ अर्ब २३ करोड बराबरको रहेको पनि महाप्रबन्धक पौडेलले जानकारी दिएका हुन ।

उदयपुर जिल्लाको जलजलेमा अवस्थित उद्योग विसं २०४४ बाट सञ्चालनमा आएको उद्योगले २०५८ सालमा पहिलो पटक ठूलो परिमाणमा सिमेन्ट उत्पादन गरेर बिक्री गरेको थियो । झण्डै १७ वर्ष पछि उद्योगले बढी सिमेन्ट उत्पादन गरी बिक्री गर्न सफल भएको हो ।

५ महिना देखि विद्युत भार कटौतीको समस्या समधान भए पछि अहिले सिमेन्ट उद्योगले दैनिक ७ सय ५० मेट्रिक टनभन्दा माथि सिमेन्ट उत्पादन गर्दै आएको छ । विगतमा उद्योगले मुस्किलले ५ सय ५० मेट्रिक टन मात्र सिमेन्ट उत्पादन गर्ने गरेको थियो ।

देशकै सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगको दैनिक ८ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL