काठमाडौं । डडेलधुराको स्याउलेमा निर्माण गरिएको १३२÷३३ केभी सब स्टेसन मंगलबारबाट संचालनमा आएको छ ।
७ नम्बर प्रदेशका पहाडी जिल्लामा विद्युत आपूर्तिलाई नियमित बनाउन सब स्टेसनलाई मंगलबारबाट चार्ज गरिएको हो ।
सब स्टेसन निर्माण सम्पन्न गरेसँगै ७ नम्बर प्रदेशका पहाडी जिल्लामा निर्माण हुने अन्य आयोजनाबाट उत्पादन हुने विद्युत सोही सब स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाईनमा जडान गरिनेछ ।
सब स्टेसन सञ्चालनमा आएपछि दार्चुलाको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको विद्युत स्याउलेबाटै डडेल्धुरा, दार्जुला, डोटी, वैतडी र अछाममा बितरण हुने छ ।
नेपाल विद्युत प्राधिकरणले अहिले चमेलियाको विद्युत १३२ केभी प्रसारण लाइनमार्फत कैलालीको अत्तरिया पुर्याई पुन ३३ केभीमार्फत ती जिल्लाहरुमा आपूर्ति गर्दै आईरहेको छ ।
‘अब चमेलियाको विद्युत सब स्टेसनबाट ७ नम्बर प्रदेशका पहाडी जिल्लामा आपूर्ति हुने भएकाले लामो प्रसारण प्रणालीले गर्दा भइरहेको प्राविधिक चुहावटमा समेत कमी आउने आयोजना प्रमुख रमेशप्रसाद पौडेलले जानकारी दिएका छन ।
प्राधिकरणले चमेलिया सञ्चालनमा आउनुभन्दा पहिले पनि अत्तरियाबाटै ३३ केभी प्रसारण लाइनमार्फत ७ नम्बर प्रदेशका पहाडी जिल्लामा विद्युत आपूर्ति गर्दै आएको थियो । हाल अत्तरिया–डडेलधुरा–दिपायल ३३ केभी प्रसारण लाइनमार्फत डडेलधुरा र डोटीको दिपायलमा भएका ३३÷११ केभीका सव स्टेसनमार्फत ११ केभीमा परिणत गरी वितरण हुँदै आएको छ ।
प्राधिकरणले डडेलधुराबाट बैतडी हुँदै दार्चुलासम्म र डडेलधुराबाट दिपायल हुँदै अछामसम्म विद्युत आपूर्ति गर्दै आएको छ । अव ती क्षेत्रमा चमेलियाको विद्युत स्याउले सब स्टेसनमार्फत आपूर्ति हुने छ ।
सब स्टेसनमा १३२÷३३ केभीको पावर ट्रान्सफर्मर र ३३÷११ केभीको वितरण ट्रान्सफर्मर राखिएको छ ।