Logo

असार २४ गतेदेखि दोलखालीलाई माथिल्लो तामाकोशीको सेयर, आवेदन दिन जिल्लामै पुग्नुपर्ने

असार २४ गतेदेखि दोलखालीलाई माथिल्लो तामाकोशीको सेयर, आवेदन दिन जिल्लामै पुग्नुपर्ने



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले असारको चौथो हप्तादेखि स्थानीयबासीलाई सेयर बिक्री खुला गर्ने भएको छ ।

लामो समय विवादमा रहेको स्थानीय बासीलाई वितरण गर्न लागिएको सेयर यही असार २४ गतेबाट दोलखावासीलाई वितरण गर्न लागिएको हो ।

आयोजनाले यही साउन ९ गते सम्म आवेदन दिन सक्नेगरी सेयर निष्काशन गरेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बिजखबरलाई बताए । आयोजनाले धितोपत्र बोर्डबाट सेयर निष्काशन गर्नका लागि जेठ अन्तिमसाता स्वीकृति लिएको थियो ।

आयोजनाले स्थानीयको लागि चैतको पहिलो हप्तामै सेयर निष्काशन गर्ने तयारी गरेको थियो । तर, सेयर बिक्री मोडलमा विवाद भएपछि लम्बिएको थियो । दोलखामा आन्दोलित पक्षले जिल्लाबासीलाई वितरण गर्ने सेयरमा समुह क, ख र ग नबनाई अति प्रभावित र प्रभावित २ समुह बनाई सेयर वितरण गर्नु पर्ने माग राख्दै आएका छन । तर, आयोजनाले भने आन्दोलनरत पक्षको माग विपरित पुरानै व्यवस्था अनुसार सेयर वितरण गरिने जानकारी दिएको छ ।

आयोजनाले स्थानीयको लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । स्थानीयबासीलाई सेयर बिक्री सकिएपछि मात्रै सर्वसाधरणको लागि सेयर आवेदन माग गर्ने न्यौपानेले जानकारी दिएको छ । बैदेशिक रोजगारीमा गएकाहरुले भने आयोजनाको वेवसाईटमा राखेको र्फममा आफ्नो हस्ताक्षर गरी आफन्त मार्फत सेयर भर्न पाउनेछन् ।

तामाकोशीको सेयर आवेदन दिन भने जिल्लामै पुग्नु पर्ने आयोजनाले जानकारी दिएको छ । स्थानीयको सेयर भएकाले काठमाडौंमा सेयर आवेदन दिन नपाउने ब्यवस्था गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

उनका अनुसार देश भित्र जहाँ भए पनि सेयर आवेदन दिन भने जिल्लामा नै पुग्नु पर्नेछ । साथै सेयर आवेदन दिन डिम्याट खाता पनि नचाहिने र घरको एक जनाको बैंक खाता भए पुग्ने न्यौपानेले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
MBL