Logo

पनौती विद्युत गृहलाई केयुले शैक्षिक ग्राममा विकास गर्ने, फर्पिङ विद्युत गृह त्रिविलाई दिर्इँदै

पनौती विद्युत गृहलाई केयुले शैक्षिक ग्राममा विकास गर्ने, फर्पिङ विद्युत गृह त्रिविलाई दिर्इँदै



काठमाडौं । काभ्रे स्थित खोपासीमा रहेको २ दशमलव ४ मेगावाट क्षमताको पनौती जलविद्युत गृहलाई शैक्षिक ग्रामको रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्वविद्यालय (केयु)बीच बिहीबार एक कार्यक्रममा शैक्षिक ग्रामको रुपमा विकास गर्न सम्झौता भएको हो ।

सम्झौता पत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र काठमाडौं विश्वविद्यालयका उपकूलपति प्राडा. रामकण्ठ मकाजु श्रेष्ठले हस्ताक्षर गरेका हुन । उक्त सम्झौता पश्चात विश्वविद्यालयले विद्युत गृहलाइ आवश्यक मात्रामा सुधार गर्दै अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने भएको छ ।

साथै विश्वविद्यालयले विद्युतगृहको आवश्यक मात्रामा मर्मत सम्भार गर्दै लैजानुपर्ने उक्त सम्झौतामा उल्लेख छ । सम्झौताको म्याद भने १० बर्षको हुने प्राधिकरणले जानकारी दिएको छ ।

विद्युत गृहको परिषरमा विश्वविद्यालयले कुनै प्रकारका तालिम या अन्य कार्यक्रम गरेर नाफा भएमा सो नाफाको १० प्रतिशत प्राधिकरणले लिनेछ । विद्युत गृहको सुदृढिकरण तथा नयाँ संरचनाको खर्च विश्वविद्यालयले आफै गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

प्राधिकरणले फर्पिङ, सुन्दरीजल जस्ता ऐतिहासिक विद्युत गृह विश्वविद्यालयलाई शैक्षिक प्रयोजनका लागि प्रयोग गर्न दिने तयारी गरेको जानकारी दिएको छ । नेपालको पहिलो विद्युत गृह फर्पिङलाई त्रिभुवन विश्वविद्यालय (टियु)लाई दिने तयारी भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्