काठमाडौं । चालु आर्थिक बर्षको चैत महिनामा मात्रै नेपालमा १३ अर्ब रूपैयाँ बढीकाे वैदेशिक लगानी प्रतिवद्धता आएको छ । हरेक महिना करिव १ देखि २ अर्ब रुपैयाँ बराबर मात्रै भित्रीइरहेकाे वैदेशिक लगानी प्रतिवद्धता पछिल्लो समय भने १० अर्ब नाघ्ने गरेको छ । यसअघि अघिल्लो महिना फागुनमा पनि नेपालमा १७ अर्ब बराबरको विदेशी लगानी प्रतिवद्धता आएको थियो । यसपल्ट चैतमा पुनः १० अर्ब माथि अर्थात १३ अर्ब ३१ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको उद्योग विभागले जानकारी दिएको छ ।
विभागका अनुसार यस अवधिमा विभिन्न ५३ परियोजनामार्फत उक्त लगानीको प्रतिवद्धता आएको हो । यस्तो लगानीमध्ये २३ परियोजनामार्फत डाइरेक्ट रुटबाट १३ अर्ब १७ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउँदा अटोमेटिक रुटबाट ३० परियोजनामार्फत १४ करोड ११ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।
९ महिनामा ५८ अर्बको प्रस्ताव
पछिल्ला २ महिनामा मात्रै उच्च लगानी प्रतिवद्धता आउँदा चालु आवको ९ महिना अर्थात चैत मसान्तसम्म करिव ५८ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । विभागका अनुसार यो गत आर्थिक बर्षको यहि अवधिको तुलनामा करिव १९ अर्बले बढी हो । गत आवको यहि अवधिसम्म नेपालमा ३९ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो । चालु आवमा उक्त लगानी बढ्दै ५७ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ पुगेको हो ।
यसरी चालु आवको ९ महिनामा आएको लगानी प्रतिवद्धतामार्फत १२ हजार ४ सय ३५ जनाले रोजगारी पाउने बताईएको छ ।
चालु आवको ९ महिनामा नेपालमा लगानी प्रतिवद्धता जाहेर गरेका ४ सय ८० परियोजनामध्ये ४ सय ६८ परियोजना साना लगानीका छन् । यस्तै ८ ओटा मझौला र बाँकी ४ परियोजना भने ठुला लगानीका रहेको विभागले जानकारी दिएको छ ।
६० प्रतिशत लगानी सेवा क्षेत्रमा
चालु आवमा नेपालमा आएको कुल वैदेशिक लगानी प्रतिवद्धतामध्ये ६० प्रतिशत लगानी सेवा क्षेत्रमा आएको छ । विभागका अनुसार कुल लगानी प्रद्धिवद्धतामध्ये ६३ परियोजनामार्फत ३४ अर्ब ९२ करोड रुपैयाँ बराबरको प्रतिवद्धता क्षेत्रबाट आएको हाे ।
यता पर्यटन क्षेत्रले पनि कुल लगानी प्रतिवद्धताको ३२ प्रतिशत हिस्सा ओगटेको छ । यो क्षेत्रमार्फत चैतसम्म १८ अर्ब ३२ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । यस्तै यसै अवधिमा उत्पादनमुलक क्षेत्रमा २ अर्ब , सूचना प्रविधि क्षेत्रमा १ अर्ब ११ करोड र कृषिमुलक क्षेत्रमा ७६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।