काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले थप दुई सेवा विस्तार गरेको छ । कम्पनीले नेपालको बीमा क्षेत्रमा पहिलो पटक सूर्यज्यति केयर्स डिजिटल कार्ड र सूर्यज्योति ई-कर्जा सेवा शुरू गरेको हो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा, कार्यकारी निर्देशक सुशील देव सुवेदी, कम्पनीका अध्यक्ष केशव भट्टराई र प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले संयुक्त रूपमा नयाँ सेवाहरूको शुभारम्भ गरेका हुन्।
सोमबार कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै उक्त सेवा शुभारम्भ गरेको हो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश विक्रम खत्रीले ई(कर्जा सेवा शुभारम्भ भएसंगै अब जीवन बीमा पोलिसीमा अनलाइन कर्जा लिन सकिने जानकारी दिए ।
३ वर्ष पुरा भएका र तेस्रो किस्ता तिरिसकेका बीमितले अनलाईबाट ई-कर्जा सेवा पाउने भएका छन । यसरी लिने कर्जाको ब्याजदर कम्पनीले तोके अनुसार हुनेछ । यस्तो सेवा नेपालमै पहिलो रहेको सीईओ खत्रीले दाबी गरे ।
सीईओ खत्रीका अनुसार सूर्यज्यति केयर्स डिजिटल कार्ड बीमीत र अभिकर्ताहरूका लागि ल्याइएको कार्ड हो । यो निशुल्क सेवा हो । यो कार्ड पाँच लाख माथि पोलिसि खरिद गरेका बीमितहरूले प्रयोग गर्न पाउनेछन् ।
अल्का अस्पतालमा क्युआर मार्फत भुक्तानी गर्दा विभिन्न छुट समेत पाइने भएको छ । यससंगै देशभरका ४२ वटा अस्पतालबाट सम्झौता अनुसार छुट सेवा पाउने भएका छन् । फिटनेस सेन्टर, सिनेमा हल लगायत ठाउँहरूमा पनि छुटका लागि सम्झौता गरिएको उनले जानकारी दिए ।