Logo

के कुशकुमार, भवानी, किशोर, दिनेश, भाष्करहरु मारवाडी र ठूला व्यवसायी विरोधी हुन ? यसकारण दिए प्रसाईलाई साथ

के कुशकुमार, भवानी, किशोर, दिनेश, भाष्करहरु मारवाडी र ठूला व्यवसायी विरोधी हुन ? यसकारण दिए प्रसाईलाई साथ



काठमाडौं । विभिन्न नाममा चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका दुर्गा प्रसाईको एउटै उद्देश्य छ, मारवाडी र ठूला उद्योगी व्यवसायीलाई देशबाट पलायन गराउने । लघुवित्त पीडितको नामबाट तथाकथित आन्दोलन शुरु गरेका प्रसाईको निशानामा सधैं नै मारवाडी व्यवसायी र ठूला उद्योगी तथा व्यवसायीहरु नै परिरहका छन् । उनले कतिपय मारवाडी व्यवसायीलाई नेपालको सम्पति हडपेको, करछली गरेको लगायत दर्जनौं आरोप लगाउँदै फोटो सार्वजनिक गर्दै देशद्रोही र अपराधीको संज्ञा दिए । कुनै व्यक्ति माथि विभिन्न आरोप लगाउँदै खुलेआम सडकमा फोटो सार्वजनिक गर्दैै हिड्दा समेत तत्कालिन अवस्थामा सरकार मौन बसिरहयो । तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारकै संरक्षणमा प्रसाईले व्यवसायीहरु माथि सामुदायिक हिंस्सा फैल्याउनेगरी विरोध गर्दै हिडेको र जसले गर्दा कुनै कारबाही नभएको हल्ला समेत बाहिर आएको थियो ।

प्रसाईले नेतृत्व गरेको लघुवित्त पीडित आन्दोलनले कुनै मुर्त रुप नलिएपछि तथाकथित राजावादीको रुपमा आन्दोलन गर्न थाले भने त्यसको कमाण्डर समेत बन्न पुगे । प्रसाईले राजावादी आन्दोनको नेतृत्व गरेपनि त्यसको निशासानमा उद्योगी व्यवसायी नै परे । प्रसाईले यहिँ चैत १५ गते गरेको आन्दोलनमा भाटभटेनी तोडफोड, लुटपाटदेखि उद्योगी व्यवसायीका कप्लेक्सदेखि ठूला व्यापारिक भवन र पार्टी प्यासेलमा समेत तोडफोड र आगजनी गरे । तर, प्रसाईले मारवाडी र ठूला उद्योगी व्यवसायी केन्द्रित गरी अघि बढाएको उक्त आन्दोलनलाई नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गरेका व्यवसायीहरुले सामूहिक रुपमा विज्ञप्ती नै जारी गरेर साथ दिए ।

महासंघमा सधै ठूला उद्योगी व्यवसायीको विरोध गर्दै एउटै कित्तामा उभिदै आएका पूर्व अध्यक्षद्वय कुशकुमार जोशी, विनोद बहादूर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, पूर्व उपाध्यक्षद्वय किशोर प्रधान र दिनेश श्रेष्ठ र पछिल्लो समय क्याम्प परिवर्तन गरेकी भवानी राणासमेतले विज्ञप्तिनै जारी गरेर अहिले दुर्गा प्रसाईले नेतृत्व गरेको राजावादी आन्दोलनमा होमिएका छन् । महासंघका पदाधिकारी तहमा बसेका जतिपनि उद्योगी व्यवसायीहरु अहिले प्रसाईले नेतृत्व गरेको राजावादी आन्दोलनलाई समर्थन गर्दै आन्दोलनलाई साथ दिने प्रतिवद्धता जनाएका थिए उनीहरुको सधैजसोको माग र विरोध पनि दुर्गा प्रसाईकै जस्तो रहँदै आएको छ । अर्थात मारवाडीको हालीमुहाली बढ्यो, सीमित केही उद्योगी व्यवसायीले मात्रै अर्थतन्त्र कब्जा गरे । अहिले तिनै उद्योगी व्यवसायीलाई तह लगाउनका लागि भवानी, कुशकुमार, भाष्कर, प्रधानदेखि श्रेष्ठसम्म दुर्गा प्रसाईको मारवाडी र ठूलो उद्योगी व्यवसायी विरोधी आन्दोलनलाई सधाउन पुगेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

कुशकुमार जोशी र किशोर प्रधान नातासम्बधका व्यक्ति हुन । कुनै समय किशोर प्रधान कुशकुमार र भवानीको आडभरोसामा मारवाडी उद्योगी व्यवसायीको क्याम्पबाट महासंघको वरिष्ठ उपाध्यक्षमा चुनाव उठेका थिए । उनले जिल्ला नगरतर्फ राम्रो भोट ल्याएपनि मारवाडी समुदायकै बाहुल्यता भएको एशोसिएटस समुहमा भने सोचेभन्दा ज्यादै कम भोट आउँदा चुनाव हार्न पुगे । त्यतिवेला नै उनीहरुको बुझाई थियो मारवाडी उद्योगी व्यवसायीले नपत्याउँदा वा धोका दिँदा किशोर प्रधानले हारे । अहिले त्यसैको प्रतिशोध साँध्नका लागि प्रसाईले नेतृत्व गरेको आन्दोलनमा उनीहरुले साथ दिन पुगेको स्पष्ट देखिन्छ ।

महासंघको जिल्ला नगरतर्फको उपाध्यक्ष भैसकेका दिनेश श्रेष्ठ पनि सधैजसो नेपालको उद्योग व्यवसाय मारवाडी र सीमित ठूला व्यवसायीले कब्जा गरे भन्दै विरोधमा उत्रदै आएका छन् । उनी कहिले आफैले बैंक विरोधी आन्दोलनको नेतृत्व गर्छन भने कहिले मारवाडी र सीमित व्यसायीको कब्जामा अर्थतन्त्र पुगेको भन्दै विरोधमा उत्रन्छन् । उनले त मारवाडी समुदायले महासंघमा एशोसिएट्तर्फ धेरै फर्म दर्ता गराएर भोटको राजनीति गरेको भन्दै खरो विरोधसमेत गर्दै आएका छन् । एकातर्फ प्रसाईले विभिन्न बहानामा मारवाडी र ठूलो उद्योगी व्यवसायी केन्द्रित आन्दोलन गर्ने र अर्कोतर्फ महासंघभित्र रहेर तिनै उद्योगी व्यवसायीको विरोध गर्दै आएको एउटा जमात प्रसाईले नेतृत्व गरेको आन्दोलनाई समर्थन गर्दै विज्ञप्ती जारी गर्नुले यसमा स्वार्थ बाझिएको स्पष्ट देखिन्छ ।

दुर्गा प्रसाईले नेतृत्व गरेको राजावादी आन्दोलनको एक दिनअघि उनीहरुले प्रसाईको पक्षमा विज्ञप्ती निकाल्दै वर्तमान व्यवस्था र व्यवस्थापन दुवैप्रति जनतामा रहेका गुनासाहरु र सोको सुधारका लागि जनताले उठाएका शान्तिपूर्वक आवाजहरु प्रति आफुहरुको ऐक्यबद्धता रहेको बताएका थिए । तर, उक्त दिन आन्दोलनकारीले भाटभटेनीमा तोडफोड लुटपाट गर्नेदेखि उद्योगी व्यवसायीका पार्टी प्यालेस तोडफोड गर्दै कप्लेक्स जलाउँदा समेत मौन बसिरहे । आन्दोलनकारीका तर्फबाट व्यवसायीहरुको करोडौ नोक्सानी हुँदासमेत उनीहरुले कुनै प्रतिक्रिया दिएनन् । राजावादीको नाममा प्रसाईले गरेको आन्दोलनलाई विज्ञप्ति नै निकालेर साथ दिएका भवानी, कुशकुमार, विनोदबहादुर, किशोरदेखि दिनेश श्रेष्ठलगायतले उक्त हिंस्रक आन्दोलनलाई मौन समर्थन गरेको सम्बद्ध उद्योगी व्यवसायीहरु नै बताउँछन् ।

दुर्गा प्रसाईको आन्दोलनलाई समर्थन गर्दै उनीहरुले भनेका थिए ‘प्रजातान्त्रिक व्यवस्थामा राष्ट्रिय, अन्तरराष्ट्रिय निषेध किमार्थ स्वीकार्य हुन सक्दैन, राज्यसत्ता र त्यसको नेतृत्वमा रहेकाहरुले वर्तमानको गतिविधिले निषेधको तृष्णा देखाउँछ । यदि परिस्थिति नियन्त्रण बाहिर जाने अवस्था भयो भने त्यसको जिम्मेवार स्वयं सरकार हुनेछ । साथै उनीहरुले विज्ञप्तीमार्फत दुर्गा प्रसाईको राजावादी आन्दोलनलाई जनताका शान्तिपूर्ण आवाज र मागको संज्ञा दिँदै राजनीतिक नेतृत्व तथा सरकारी तहबाट अशिष्ट अभिव्यक्ति तथा प्रतिकारात्मक गतिविधि एवं बलसमेत प्रयोग नगर्न धक्की दिएका उनीहरुले आन्दोनकारीका कारण उद्योगी व्यवसायीका ठूलो क्षति हुँदा त्यसको विरोधमा पनि विज्ञप्ती निकाल्न सक्नुपर्दथ्यो,’ एक व्यवसायीले भने, ‘जसरी आन्दोलनको पूर्व सन्ध्यामा नै दुर्गा प्रसाई नेतृत्वको राजावादी आन्दोलनलाई समर्थन गर्दै विज्ञप्ती निकाले त्यसले उनीहरु व्यवस्था परिवर्तन भन्दा पनि मारबाडी र ठूला उद्योगी व्यवसायीहरुको विरोधमा रहेको देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्