Logo

मीन बहादुरले भने-आन्दोलनले भाटभटेनीमा ८० लाखको क्षति भएको छ, टङ्स्लिपका कारण लाखलाई करोड भनियो

मीन बहादुरले भने-आन्दोलनले भाटभटेनीमा ८० लाखको क्षति भएको छ, टङ्स्लिपका कारण लाखलाई करोड भनियो



काठमाडौं । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मिनबहादुर गुरुङले कोटेश्वरस्थित भाटभटेनी शाखामा भएको लुटपाट र तोडफोडमा ८० लाख रुपैयाँको क्षति भएको जानकारी दिएका छन् ।

गत शुक्रबार राजावादी आन्दोलनकारीहरुले भाटभटेनीमा लुटपाट मच्चाएका थिए । उक्त लुटपाटमा कुल क्षति करिव ८० लाख रुपैयाँ भएको उनले बताएका हुन् । यसअघि एक संचारमाध्यममा उनले आफ्नो विचार राख्दै कुल क्षती ७५ देखि ८० करोड रुपैयाँ बराबरको भएको बताएका थिए । तर, त्यो टङस्लिपका कारण भएको उनले दावी गरेका छन् ।

‘हाम्रो सबै क्षति ८० लाखको हो, टङस्लिप हुँदा लाख भन्नुपर्ने करोड भएको हो,’ उनले भने, ‘ तनावमा भएका बेला मिडियामा वक्तव्य दिँदा भएको गलत जानकारीका कारण जनमानसमा भ्रम फैलिएको हो ।’ उनले इन्सुरेन्स क्लेम पनि ८० लाखकै दाबी गरिएको बताए ।

उनका अनुसार शुक्रबारको लुटपाटमा ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ । राजावादी समूहले गरेको आन्दोलनमा उनीहरुका कार्यकर्ता प्रवेश गरेर भाटभटेनी तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए ।

त्यसैगरी भाटभटेनीका बाहिरी भागमा रहेका धेरैजसो सिसा फुटेका छन् । भवनमा क्षति पुगेको छ । त्यसबापत ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ ।

त्यसैगरी दुई लाख ६५ हजार रुपैयाँका शो–केश तथा अन्य सामग्रीमा क्षति पुगेको छ । काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको भाटभटेनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्