काठमाडौं । राजावादी आन्दोलनको मोर्चामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा, पूर्व उपाध्यक्ष किशोर प्रधान देखि नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सुरेन्द्रबीर मालाकारसम्म होमिएका छन् । व्यवसायी दुर्गा प्रसाईले कमाण्ड सम्हालेको राजावादी आन्दोलनको मोर्चामा नेकपा एमाले निकट रहेका महासंघका पूर्व अध्यक्ष राणादेखि पूर्व उपाध्यक्ष प्रधानसम्म अग्र मोर्चामा देखिएका छन् ।
उनीहरुले दुर्गा प्रसाईले नेतृत्व गरेको राजावादी आन्दोलनको पक्षमा विज्ञप्ती निकाल्दै वर्तमान व्यवस्था र व्यवस्थापन दुवैप्रति जनतामा रहेका गुनासाहरु र सोको सुधारका लागि जनताले उठाएका शान्तिपूर्व आवाजहरु प्रति आफुहरुको ऐक्यवद्धता रहेको बताएका छन् । दुर्गा प्रसाईको आन्दोलनलाई समर्थन गर्दै उनीहरुले भनेका छन् ‘प्रजातान्त्रिक व्यवस्थामा राष्ट्रिय, अन्तरराष्ट्रिय निषेध किमार्थ स्वीकार्य हुन सक्दैन, राज्यसत्ता र त्यसको नेतृत्वमा रहेकाहरुले वर्तमानको गतिविधिले निषेधको तृष्णा देखाउँछ । यदि परिस्थिति नियन्त्रण बाहिर जाने अवस्था भयो भने त्यसको जिम्मेवार स्वयं सरकार हुनेछ ।’ साथै उनीहरुले विज्ञप्तीमार्फत दुर्गा प्रसाईको राजावादी आन्दोनलाई जनताका शान्तिपूर्ण आवाज र मागको संज्ञा दिँदै राजनीतिक नेतृत्व तथा सरकारी तहबाट अशिष्टि अभिव्यक्ति तथा प्रतिकारात्मक गतिविधि एवं बल समेत प्रयोग नगर्न धक्की दिएका छन् ।
उक्त आन्दोनमा महासंघकै पूर्व अध्यक्ष कुश कुमार जोशी, पूर्व अध्यक्ष विनोद बहादूर श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, पूर्व उपाध्यक्ष दिनेश श्रेष्ठलगायत निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने उद्योगी व्यवसायीहरु छन् । तर उनीहरुले शान्तिपूर्ण अन्दोलनको हवला दिँदै त्यसमा हस्तक्षेप नगर्न सरकारलाई धक्की दिएपनि उनीहरुले नै तेतृत्व गरेको आन्दोलनले निजी क्षेत्र माथि लुटपाट, चोरी तथा आगजनी गरिएको छ । शान्तिपूर्व भनिएको उक्त आन्दोलनमा शुरुमै कोटेश्वर र तिनकुनेमा रहेका निजी क्षेत्रका व्यापारिक कम्प्लेक्सहरु तोडफोड गरी जलाएका थिए भने सर्वसाधारणका घरमा समेत आगजनी गरेको थिए ।
त्यस्तै अराजक बन्दै गएको उक्त आन्दोलनकारीहरूले कोटेश्वरस्थित भाटभटेनीमा प्रवेश गरी तोडफोड तथा लुटपाट गरेका थिए । ‘राजावादी र दुर्गाप्रसाईको नाममा निजी क्षेत्रका नेताहरुको संरक्षण तथा नेतृत्वमा भएको आन्दोलनले निजी क्षेत्रमाथि नै लुटपाट तथा आगजनी गर्नु एकदमै दुर्भाग्यपूर्ण हो,’ एक व्यवसायीले भने, ‘जसरी राजावादीको आन्दोलनको मोर्चालाई साथ दिँदै सरकारको विरोधमा भवानी राणा, किशोर प्रधान, कुशकुमार जोशी लगायतले धक्कीपूर्ण भाषामा विज्ञप्ती निकालेर आन्दोलनको मोर्चालाई साथ दिए त्यसैगरी निजी क्षेत्रमाथि भएको लुटपाट, आगजनी र अन्य क्षतिको जिम्मेवार पनि उनीहरु नै हुनुपर्दछ ।’
