Logo

नेपाल उद्योग परिसंघको अपिल : उद्योगमा तत्काल विद्युत् आपूर्ति सुनिश्चित हाेस्

नेपाल उद्योग परिसंघको अपिल : उद्योगमा तत्काल विद्युत् आपूर्ति सुनिश्चित हाेस्



काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)ले उद्योग क्षेत्रमा भइरहेको लोडसेडिङप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै तत्काल विद्युत् आपूर्ति नियमित गर्न सरकार तथा सम्बन्धित निकायलाई अपिल गरेको छ।

सीएनआईका अनुसार केही समयअघि पनि नेपाल विद्युत् प्राधिकरणले उद्योग क्षेत्रमा लोडसेडिङ गर्दै विद्युत् निर्यात गरेको थियो, जसले उत्पादन लागत वृद्धिसँगै उद्योगको सञ्चालनमा प्रत्यक्ष असर पुर्‍याएको थियो। हाल पुनः दैनिक १२ घण्टासम्मको लोडसेडिङ लगाएर उद्योगलाई प्रभावित पारिएको परिसंघको आरोप छ।

परिसंघले यस किसिमको कार्यले मुलुकमा लगानीको वातावरणमा प्रतिकूल असर पार्नुका साथै नयाँ उद्योग स्थापना तथा विस्तारमा समेत बाधा पुग्ने उल्लेख गरेको छ। सरकार स्वदेशी उद्योग प्रवर्द्धन र निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्न प्रयासरत रहेकै बेला विद्युत् प्राधिकरणको लोडसेडिङ नीतिले उद्योगी व्यवसायीलाई निराश बनाएको परिसंघको भनाइ छ।

ूमुलुकमा पर्याप्त विद्युत् उपलब्ध हुँदाहुँदै पनि उद्योगलाई निरन्तर आपूर्ति नगर्नु र उल्टै निर्यात गर्नु उद्योगका लागि घातक साबित हुनसक्छ,ू सीएनआईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

परिसंघका अनुसार विद्युत् कुनै पनि उद्योगका लागि अत्यावश्यक कच्चा पदार्थ हो। त्यसको अभावमा कुनै पनि वस्तु उत्पादन सम्भव छैन। यस्तो अवस्थामा सरकारले उद्योग क्षेत्रलाई नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न तत्काल पहल गर्नुपर्ने परिसंघको माग छ।

प्रतिक्रिया दिनुहोस्
Skip This