Logo

वीरगञ्ज सुक्खा बन्दरगाहमा पहिलो पटक ट्याङ्क कन्टेनर भित्रिए, कच्चा तेल आयात

वीरगञ्ज सुक्खा बन्दरगाहमा पहिलो पटक ट्याङ्क कन्टेनर भित्रिए, कच्चा तेल आयात



काठमाडौं । वीरगञ्ज सुक्खा बन्दरगाहमा पहिलो पटक ट्याङ्क कन्टेनर मार्फत कच्चा तेल भित्रिएको छ। आइतबार अर्जेन्टिनाबाट आयात गरिएको सोयाविन तेलको कच्चा पदार्थ बोकेको कन्टेनर रेलमार्फत बन्दरगाहमा आइपुगेको हो। बारा, जीतपुरस्थित शिवशक्ति प्रा।लि। ले खरिद गरेको कच्चा तेल २० फुटे ९० वटा ट्याङ्क कन्टेनरमा झिकाइएको थियो, जसको कुल मात्रा २० हजार मेट्रिक टन रहेको छ।

यसअघि सडक मार्गबाट मात्र ढुवानी हुँदै आएको कच्चा तेल अब रेलमार्फत ल्याउन थालिएको छ, जसले ढुवानी खर्चमा करिब १५ प्रतिशत बचत हुने देखिएको छ। साथै, ट्याङ्क कन्टेनर पूर्णरूपमा सिल गरिएका कारण तेल चोरीको जोखिम हट्नेछ।

सन् २००४ देखि सञ्चालनमा आएको वीरगञ्ज सुक्खा बन्दरगाहमा पहिले कन्टेनर, बल्क, ब्रेकबल्क कार्गो मात्र आउने गर्थ्यो। हालै २०८० असार १६ ९जुलाई १, २०२३० बाट कोइलाको लुज कार्गो पनि भित्रिन थालेपछि बन्दरगाहको व्यापारिक गतिविधि विस्तार भएको छ।

अब कच्चा तेल समेत रेलमार्फत आयात हुन थालेपछि वीरगञ्ज नाका हुँदै हुने व्यापारिक कारोबार थप वृद्धि हुने अपेक्षा गरिएको छ। यसले सडक मार्गमा पर्ने चाप कम गर्नेछ भने ट्याङ्कर अभावका कारण हुने समस्या पनि समाधान गर्नेछ।

वीरगञ्ज सुक्खा बन्दरगाहले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। यो बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यअनुसार आवश्यक संरचना विस्तार र आधुनिकीकरणको काम भइरहेको छ। ट्याङ्क कन्टेनरको प्रयोगले नेपालमा व्यापारिक ढुवानी प्रणाली थप व्यवस्थित र सुरक्षित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्