Logo

फागुनमा एकाएक उकालो लाग्यो एफडीआई, एकै महिना आयो १७ अर्ब ८० करोडको प्रतिवद्धता

फागुनमा एकाएक उकालो लाग्यो एफडीआई, एकै महिना आयो १७ अर्ब ८० करोडको प्रतिवद्धता



काठमाडौं । चालु आर्थिक बर्षको फागुनमा मात्रै अप्रत्यासित रुपमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता (एफडीआई) आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा चालु आवको फागुनमा आएको एफडीआई ऐतिहासिक उच्च हो । यसअघि मासिक रुपमा एक देखि ५ अर्बसम्म मात्रै भित्रिरहेको यस्तो एफडीआई फागुनमा भने विभिन्न ४० परियोजनामार्फत १७ अर्ब ७९ करोड ८६ लाख ४० हजार रुपैयाँ बराबरको भित्रिएको हो ।

खासगरी यस अवधिमा गैरआवासीय नेपालीको एक नयाँ कम्पनीले नेपालमा ठुलो लगानीको एफडीआई भित्र्याएपछि फागुनमा यस्तो लगानीमा उछाल देखिएको उद्योग विभागका सूचना अधिकारी अर्जुन सेन ओलीले बताए । ‘यसपल्ट आएको लगानी ऐतिहासिक हो,’ उनले भने, ‘यसपल्ट एक एनआरएन कम्पनीले ठुलो लगानीको प्रस्ताव गरेपछि यो ठुलो देखिएको हो ।’
विभागको तथ्यांकलाई आधार मान्दा फागुनमा १९ परियोजनामार्फत अटोमेटिक रुट हुँदै १२ करोड ८६ लाख ४० हजार र रेगुलर रुटमार्फत १७ अर्ब ६७ करोड रुपैयाँ बराबरको लगानी आएको छ ।

यता चालु आर्थिक बर्षको ८ महिनाको तथ्यांकलाई आधार मान्दा भने यस अवधिसम्म नेपालमा ४४ अर्ब ६६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आईसकेको छ । यसअघि माघसम्म २६ अर्ब ८४ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएकोमा फागुनमा मात्रै उच्च बढेको हो । फागुनसम्मको तथ्यांकलाई आधार मान्दा यस अवधिमा विभिन्न ४ सय २७ परियोजनामार्फत उक्त लगानी आएको हो ।

यस अवधिमा सबैभन्दा बढी सेवा क्षेत्रमा अर्थात यो क्षेत्रमा मात्रै २२ अर्ब ३६ करोड ३७ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यस्तै पर्यटन क्षेत्रमा १७ अर्ब ९० करोड, उत्पादनमुलक क्षेत्रमा २ अर्ब ६३ करोड, सूचना प्रविधिमुलक क्षेत्रमा ९५ करोड र कृषिमुलक क्षेत्रमा ७६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

प्रतिक्रिया दिनुहोस्