काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय समक्ष १८ पृष्ठ लामो स्पष्टिकरण पेश गरेका छन्। गत हप्ता बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले उनलाई ३ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेपछि उर्जा मन्त्रालयले स्पष्टिकरण सोधेको थियो । जसमा उनलाई विभिन्न आरोपहरु लगाईएका थिए । उनले यसबारे आफ्नो धारणा प्रस्तुत गरेका हुन्।
घिसिङको स्पष्टीकरण नेपालको ऊर्जा क्षेत्रमा उनका कार्यहरू, सम्झौताका सर्तहरू, कार्यान्वयनको प्रगति तथा सरकारको निर्णयहरूसँग सम्बन्धित छ। मुख्यतः उनले आफ्नो कार्यकालमा भएका उपलब्धिहरूलाई आधार बनाई विभिन्न आरोपहरूको खण्डन गरेका छन्। उनले सरकारसँग भएको सम्झौताअनुसार कार्यसम्पादन मूल्यांकन भएको र आफ्नो पक्षबाट कुनै पनि सम्झौता उल्लङ्घन नगरेको दाबी गरेका छन्।
स्पष्टीकरणमा उनले नेपाल विद्युत प्राधिकरणको वित्तीय स्थिति, विद्युत आपूर्ति सुधार, उत्पादन वृद्धिमा पुर्याएको योगदान तथा भारतसँगको ऊर्जा व्यापार सम्झौतालाई स्पष्ट पारेका छन्। साथै, उनले केही सरकारी निर्णयहरू प्राधिकरणको स्वायत्तताविरुद्ध भएको दाबी पनि गरेका छन्।
सरकारले समयमै आवश्यक विवरण उपलब्ध नगराएको, प्राकृतिक कारणहरूका कारण योजना प्रभावित भएको तथा संस्थागत निर्णयहरूका क्रममा भएको प्रक्रियागत ढिलाइलाई कारण देखाउँदै, आफूलाई अनुचित रूपमा निशाना बनाइएको उनको तर्क छ ।