Logo

महासंघको कार्यकारिणी सदस्यमा कृष्ण दुलाल मनोनित, यस्तो छ कार्यानुभव

महासंघको कार्यकारिणी सदस्यमा कृष्ण दुलाल मनोनित, यस्तो छ कार्यानुभव



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा व्यवसायी कृष्ण दुलाललाई पुनः मनोनित गरिएको छ। महासंघको विधानको दफा २९ को उपदफा (च) १० अनुसार उनलाई कार्यकारिणी समितिमा मनोनयन गरिएको हो। यसअघि पनि एक कार्यकाल महासंघको कार्यकारिणी सदस्यका रूपमा जिम्मेवारी सम्हालिसकेका दुलालको यो दोस्रो कार्यकाल हुनेछ। महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दुलालको अनुभव र नेतृत्व क्षमताले महासंघको गतिविधिलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

दुलाल नेपालका स्थापित व्यवसायी तथा उद्योगी हुन्। उनले विभिन्न व्यवसायिक संघसंस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। यसअघि उनी नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष भइसकेका छन्। नाडाको अध्यक्षका रूपमा कार्यरत रहँदा उनले नेपाली अटोमोबाइल व्यवसायलाई व्यवस्थित बनाउन महत्त्वपूर्ण योगदान गरेका थिए। व्यवसायलाई प्रविधिमैत्री बनाउँदै डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न उनले विशेष जोड दिएका थिए।

यस्तै दुलाल सुन्दर हरैँचा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्षसमेत हुन्। यो संघ उनको नेतृत्वमा स्थापना भएको थियो, जसले सो क्षेत्रका उद्योगी तथा व्यवसायीहरूलाई समेटेर व्यवसाय प्रवर्द्धनका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

त्यस्तै, उनी किर्तिपुर जेसिजका पूर्वअध्यक्षसमेत हुन्। जेसिजको नेतृत्व गर्दै उनले युवाहरूलाई नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन, र सामाजिक उत्तरदायित्वका क्षेत्रमा क्रियाशील गराउन सक्रिय भूमिका खेलेका थिए।

महासंघको कार्यकारिणी सदस्यका रूपमा पुनः जिम्मेवारी सम्हालेपछि दुलालले नेपाली उद्योग तथा व्यापारलाई प्रवर्द्धन गर्ने रणनीतिहरू कार्यान्वयन गर्ने बताएका छन्। उनले साना तथा ठूला व्यवसायहरूबीच समन्वय स्थापित गर्दै डिजिटल रूपान्तरण, नीति सुधार, र व्यवसायमैत्री वातावरण निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखेको बताए ।

महासंघको तर्फबाट उनी उद्योग क्षेत्रका समस्याहरू समाधान गर्न तथा व्यवसायीहरूको माग नीति निर्माण तहसम्म पुर्‍याउन सक्रिय हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्