काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ७ महिनामा नेपालमा झण्डै २७ अर्बको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता (एफडीआई) आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको साउनयता माघ मसान्तसम्म विभिन्न ३ सय ८६ परियोजनामार्फत २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ बढीको लगानी प्रतिवद्धता आएको हो । जसमध्ये १ सय ७५ परियोजनामा अटोमेटिक रुटमार्फत २ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउँदा रेगुलर रुटमार्फत २ सय ११ परियोजनामा २४ अर्ब २१ करोड ३४ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।
यस अवधिमा सेयर पर्चेज एग्रिमेन्ट, सेयर सब्स्क्रीप्सन एग्रिमेन्ट र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्टमार्फत पनि थप १ अर्ब ९४ करोड रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ ।
चालु आवको माघ महिनाको मात्रै कुरा गर्दापनि यस अवधिमा कुल १ अर्ब ६ करोड रुपैयाँ बढी लगानी प्रतिवद्धता आएको देखिन्छ । विभागका अनुसार माघमा कुल ३२ परियोजनामा उक्त लगानी प्रतिवद्धता आएको हो । यस्तै माघमा एसपीए र एसएसएमार्फत पनि थप ९ करोड २२ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको देखिन्छ ।
चालु आवको माघसम्म अर्थात ७ महिनामा नेपालमा ठुलो लगानीका जम्मा ४, मझौला लगानीका ७ र साना लगानीका ३ सय ७५ परियोजना दर्ता भएका छन् । यता माघ महिनामा भने ठुलो लगानीका परियोजना दर्ता नभएको देखिन्छ । यद्यपी माघमा मझौला २ र साना लगानीका ३० परियोजना दर्ता भएका छन् ।
यसरी आएको लगानी सबैभन्दा बढी भने सेवा र पर्यटन क्षेत्रमा केन्द्रित एको विभागले जानकारी दिएको छ । विभागका अनुसार यस अवधिमा आएको कुल लगानी प्रतिवद्धतामध्ये ६५ प्रतिशत लगानी पर्यटन क्षेत्रमा आएको छ । जुन कुल लगानीमा १७ अर्ब ३२ करोड बराबर हो ।
यस्तै सेवा क्षेत्रमा २१ प्रतिशत, उत्पादनमुलक क्षेत्रमा ८ प्रतिशत, सूचना प्रविधि र कृषि क्षेत्रमा समान ३ प्रतिशत र पूर्वाधार क्षेत्रमा न्यून मात्रै लगानी प्रतिवद्धता आएको देखिन्छ ।
परियोजनाको संख्यालाई आधार मान्दा चालु आवको ७ महिनामा नेपालमा सबैभन्दा बढी परियोजना पनि पर्यटन क्षेत्रकै दर्ता भएको छन् । यस अवधिमा यो क्षेत्रका १ सय ६८ परियोजना दर्ता हुँदा सूचना प्रविधि क्षेत्रका १ सय ३४, सेवा क्षेत्रका ४८, उत्पादनमुलक क्षेत्रका २७, कृषि क्षेत्रका ६, पूर्वाधार क्षेत्रका २ र उर्जामुलक क्षेत्रका १ परियोजना दर्ता भएका छन् ।