Logo

विश्वबजारमा कच्चा पेट्रोलियमको मूल्य घट्यो, अमेरिका–चीन व्यापार तनाव र इरानी तेल प्रतिबन्धको प्रभाव

विश्वबजारमा कच्चा पेट्रोलियमको मूल्य घट्यो, अमेरिका–चीन व्यापार तनाव र इरानी तेल प्रतिबन्धको प्रभाव



काठमाडौं । अन्तरराष्ट्रिय बजारमा बुधबार कच्चा पेट्रोलियमको मूल्यमा गिरावट आएको छ। अमेरिका–चीन व्यापार युद्धको आशंका, अमेरिकी तेल भण्डारणको वृद्धिले बजारमा नकारात्मक प्रभाव पारेपछि ब्रेन्ट क्रुड ०.२८ प्रतिशतले घटेर प्रति ब्यारेल ७५.९९ डलरमा झरेको छ भने, अमेरिकी डब्लुटिआई ०.१५ प्रतिशतले घटेर ७२.५९ डलर पुगेको छ।

मङ्गलबार चीनले अमेरिकी तेल, प्राकृतिक ग्यास र कोइलामा शुल्क लगाउने घोषणा गरेपछि मूल्यमा तीव्र गिरावट आएको हो । डब्लुटिआई ३ प्रतिशतसम्म घट्दै डिसेम्बर ३१ पछिकै न्यूनतम बिन्दुमा पुगेको थियो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः ‘अधिकतम दबाब’ नीति लागू गर्ने घोषणा गरेपछि बजारले सुधार देखायो।

ट्रम्पले इरानी तेल निर्यातलाई शून्यमा झार्ने प्रयास गर्दै छन्, जसले सन् २०१८ मा इरानबाट १.५ मिलियन ब्यारेल प्रतिदिन निर्यातमा ठूलो असर पारेको थियो।

यस्तैअमेरिकी पेट्रोलियम संस्थाका अनुसार, जनवरी ३१ सम्म कच्चा तेल भण्डारण ५.०३ मिलियन ब्यारेलले बढेको छ। पेट्रोल भण्डारण ५.४३ मिलियन ब्यारेलले बढेको छ, भने डिस्टिलेट स्टक ६.९८ मिलियन ब्यारेलले घटेको छ। यसले अमेरिकी बजारमा तेलको माग अपेक्षाकृत कमजोर रहेको सङ्केत गर्छ।

विश्लेषकहरूका अनुसार इरानमाथिको प्रतिबन्धले तेल बजारमा केही सन्तुलन ल्याउन सक्छ। तर, अमेरिकी भण्डारणको वृद्धिले तेलको मूल्य दबाबमा पार्ने देखिन्छ। गोल्डम्यान स्याक्सका अनुसार चीनले अमेरिकी तेल आपूर्तिलाई रोक्दा पनि अन्तरराष्ट्रिय आपूर्तिमा ठूलो असर पर्ने छैन, किनकि दुवै देशले वैकल्पिक बजार पाउन सक्छन्।

तेल बजार अहिले अमेरिका–चीन सम्बन्ध, इरानमाथिको नीति, र अमेरिकी भण्डारण प्रवृत्तिबाट निर्देशित भइरहेको छ। आगामी दिनमा अमेरिका–चीन व्यापार वार्ता र अमेरिकी सरकारको आधिकारिक तेल भण्डारण प्रतिवेदनले बजारको चाल निर्धारण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्