काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सरकारले हालै जारी गरेका अध्यादेशले उद्योग व्यवसाय क्षेत्रलाई नयाँ ऊर्जा प्रदान गरेको बताएका छन् ।
बिहीबार भृकुटीमण्डपमा आयोजित ‘आठौं नेपाल चेम्बर एक्स्पो २०२५’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारको पहलमा हाल आर्थिक तथा व्यवसायिक वातावरण सुधार एवं सुशासन प्रर्वद्धन गर्ने उद्देश्यले मन्त्रीपरिषदबाट जारी अध्यादेशले मुलुकका ३० जति कानूनहरुमा औद्योगिक लगानी व्यवसाय सहजीकरण एवं विदेशी विनिमय परिचालनमा रहेका समस्याहरुलाई सम्वोधन गर्ने प्रयास गरेको बताए ।
उनले नेपालको अर्थतन्त्र, उदार, बजारमुखी र प्रतिस्पर्धी बनाउने दिशामा निर्देशित छ भनेर यसले समस्त लगानीकर्ताहरुलाई उत्साहित बनाएको बताए । ‘यसका लागि सम्माननीय प्रधानमन्त्री ज्यूको सकारात्मक दूरगामी पहलका लागि हार्दिक आभार व्यक्त गर्दै यसै अनुसारको कानून र कार्यविधी एवं नियमावलीको पनि शिघ्र अपेक्षा गरेका छौं ,’ उनले भने ।
उनले अध्यादेशमा उल्लेखित व्यवस्था अनुसार रकम फिर्ता लैजान चाहने विदेशी लगानीकर्ताको प्रस्ताव ७ दिनमै स्वीकृत हुने सहजताले ती लगानीकर्ता माझ सकारात्मक सन्देश जाने बताए ।
लगानी सम्मेलनका क्रममा विदेशी लगानीकर्ताका लागि चेम्बरले उठाएको इजी इन्ट्री र इजी एक्जिटको विषय सम्वोधन हुन गएकोसमेत उनले बताए ।
यस्तै सूचना प्रविधि उद्योगले विदेशमा कार्यालय खोल्न र लगानी गर्न सक्ने अध्यादेशमा उल्लेखित प्रावधान आईटी क्षेत्रको विकासका लागि काशेढुङ्गा सावित हुने चेम्बर अफ कमर्सको ठहर छ ।