काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले रियल इस्टेट क्षेत्रमा विदेशी लगानी भित्र्याउन सकिने कानुन तत्काल निर्माण गर्न सरकारसँग आग्रह गरेको छ। महासंघले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै कानुनी अभावका कारण रियल इस्टेट क्षेत्रमा विदेशी लगानीकर्ता आकर्षित गर्न कठिनाइ भएको र यसले देशको आर्थिक वृद्धिमा प्रभाव परेको जनाएको छ।
विज्ञप्तिमा महासंघले विदेशीले नेपालमा अपार्टमेन्ट खरिद गर्न पाउने कानुनी प्रावधानको आवश्यकता औंल्याएको छ। यस्तो कानुनले विदेशी मुद्रा सञ्चिति बढाउने मात्रै नभएर रियल स्टेट क्षेत्रमा ठुलो आर्थिक चलायमानता ल्याउने महासंघको विश्वास छ। यसले नेपालको रियल इस्टेट व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउँदै देशको समग्र शहरीकरण प्रक्रिया र आर्थिक संरचनामा सुधार ल्याउने अपेक्षा गरिएको छ।
महासंघले विगतका वार्षिक बजेटहरूमा सरकारले विदेशी लगानीका विषयमा प्रतिबद्धता जनाए पनि हालसम्म ठोस कानुनी व्यवस्था हुन नसकेकोप्रति ध्यानाकर्षण गराएको छ। सरकारले यो विषयलाई प्राथमिकतामा राखेर चाँडोभन्दा चाँडो कानुन निर्माण प्रक्रिया अघि बढाउनुपर्ने महासंघले जोड दिएको छ।
यस्तै, महासंघले व्यवस्थित शहरी विकासका लागि ल्याण्ड पुलिङ र हाउस पुलिङजस्ता ठूला सहरी विकास परियोजनामा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिएको छ। साथै, जग्गा कारोबारमा विद्युतीय प्रणालीको प्रभावकारी प्रयोग, कानुनी प्रक्रियाहरूको सरलीकरण, र रियल इस्टेट व्यवसायलाई उद्योगको रूपमा विकास गर्न आवश्यक नीति र कानुनी संरचना तयार गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
महासंघका अनुसार यी सबै विषयहरू सम्बोधन गरेर मात्र नेपालमा रियल इस्टेट व्यवसायलाई दीर्घकालीन रूपमा प्रगतिको मार्गमा अग्रसर गराउन सकिन्छ। यस्तो सुधारले देशको आर्थिक विकासमा ठोस योगदान पुर्याउने महासंघको विश्वास छ।