Logo

वीरगञ्ज भन्सारद्वारा ६ महिनामा ८० अर्ब राजस्व सङ्कलन

वीरगञ्ज भन्सारद्वारा ६ महिनामा ८० अर्ब राजस्व सङ्कलन



काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ८० अर्ब पाँच करोड ५१ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको ६ महिनाको अवधिमा १ खर्ब ४ अर्ब १८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर कार्यालयले सो अवधिमा कुल लक्ष्यको ७६ दशमलव ८४ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले सवारीसाधन र पेट्रोलियम पदार्थमा आयात बढेसँगै राजस्व सङ्कलनमा सुधारोन्मुख रहेको बताए । ‘सवारीसाधनको आयात र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व सङ्कलन पनि उत्साहजनक देखिएको छ,’ उनले भने, ‘साउनयताकै पुस महिनामा उच्च राजस्व सङ्कलन भएको छ ।’

वीरगञ्ज भन्सारले चालु आवको साउन महिनामा १२ अर्ब १५ करोड राजस्व सङ्कलन गर्याे । त्यसैगरी, भदौमा १३ अर्ब ४२ करोड, असोज महिनामा १३ अर्ब ४७ करोड राजस्व सङ्कलन गरेको थियो । त्यसैगरी, कात्तिकमा ११ अर्ब १० करोड, मङ्सिरमा भने १४ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको थियो । पुसमा चालु आवकै सबैभन्दा धेरै अर्थात् १५ अर्ब ४७ करोड राजस्व सङ्कलन गरेको हो ।

कार्यालयले चालु आवको छ महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३६ दशमलव ५६ प्रतिशत राजस्व सङ्कलन गरेको हो । भन्सार विभागले कार्यालयका लागि वार्षिक २ खर्ब १८ अर्ब ९५ करोड रकम राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ । त्यसैगरी, सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि चालु आवको छ महिनाको अवधिमा २३ अर्ब ३४ करोड ३३ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले कुल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।रासस

प्रतिक्रिया दिनुहोस्
Skip This