काठमाडौं । नेपाली जुत्ता चप्पल ब्राण्ड गोल्डस्टारले भारतीय सरकारबाट ‘ब्यूरो अफ इन्डियन स्ट्याण्डर्ड्स’ (बीआईएस) प्राप्त गरेको छ। यसअघि भारतीय बजारमा निकासी हुँदै आएको गोल्डस्टारका जुत्ता चप्पल, बीआईएस अनिवार्य भएपछि रोकिएको थियो।
गोल्डस्टारका प्रबन्ध निर्देशक विदूषी राणाका अनुसार कम्पनीले बीआईएस प्राप्त गर्न आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर केहि दिनअघि मात्र भारतीय पक्षबाट मान्यता पाएको छ। यससँगै, भारतीय बजारमा गोल्डस्टारका जुत्ता पुनः निर्यात गर्नका लागि बाटो खुलेको हो ।
उनका अनुसार, नेपालबाट भारततर्फ जुत्ता निर्यात करिब ६ महिनादेखि रोकिएको थियो। भारतले जुत्ता उत्पादनमा ‘इन्डियन स्ट्यान्डर्ड’ अनिवार्य गरेपछि निर्यात प्रक्रिया रोकिएको र त्यसलाई पुनः सुचारु गर्न गोल्डस्टारले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न समय लागेको थियो।
‘यसअघि भारतीय बजारमा बीआईएस अनिवार्य थिएन। पछिल्लो समय यस्तो मापदण्ड अनिवार्य भएपछि हामीले आवेदन दिएका थियौं। अहिले बीआईएस प्राप्त गरेसँगै हाम्रो भारतीय बजारमा उपस्थिति बढाउन सहज हुनेछ,’ राणाले भनिन्।
गोल्डस्टारको भारतीय बजारमा वार्षिक १ अर्व रुपैयाँ बराबरको कारोबार हुँदै आएको छ। विगतमा यो संख्या वार्षिक ३ अर्व रुपैयाँसम्म पुग्थ्यो। तर, पछिल्लो समय नेपालमा बैंकहरूको चर्को व्याजदर, महँगो बिजुली तथा सरकारी नीतिहरूका कारण उत्पादन महँगो भएको र भारतीय बजारमा प्रतिस्पर्धा गर्न कठिनाई भएको राणाको भनाइ छ।
‘भारतीय उपभोक्ताहरुमध्ये हाम्रो जुत्ता मन पराउने ठुलो समूह छ। तर, उनीहरूलाई उचित मूल्यमा उपलब्ध गराउन हाम्रो लागि चुनौती बनिरहेको थियो। अब, बीआईएस प्राप्तसँगै प्रतिस्पर्धात्मक मूल्य र गुणस्तरका साथ बजार विस्तार गर्ने योजना छ,’ उनले भनिन्।
राणाका अनुसार, भारतले नयाँ मापदण्ड लागू गरेसँगै नेपाली जुत्ताको निर्यात रोकिएको थियो। तर, यो अवधिमा गोल्डस्टारले बीआईएस प्राप्त गर्न आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्दै यो मान्यता पाउन सफल भएको हो।
अब, नेपालबाट भारतीय बजारमा लगातार निर्यात गर्ने तयारी गरिएको छ। ‘हामीलाई विश्वास छ, बीआईएस प्राप्त भएपछि भारतीय बजारमा गोल्डस्टारको उपस्थिति थप सशक्त हुनेछ,’ राणाले थपिन्।