Logo

जलविद्युत आयोजनाले पाउन छाडे पुनर्बीमा, बैंकको लगानी पनि जोखिममा

जलविद्युत आयोजनाले पाउन छाडे पुनर्बीमा, बैंकको लगानी पनि जोखिममा



काठमाडौं । नेपालका जलविद्युत आयोजनामा बैंक तथा वित्तीय क्षेत्रको लगानी बढ्दै जाँदा थप समस्या उत्पन्न हुन थालेको छ । बैंकले जतिपनि लगानी गर्ने र प्रवद्र्धकहरुले आयोजनामा लागत बढाउँदै जाने प्रवृत्तिले नयाँ जटिलता देखिन थालेको हो ।

बैंकको लगानी बढ्दै जाँदा खासगरी नेपालका रन अफ दि रिभर (आरओआर) आयोजनाको बीमा गर्ने प्रवद्र्धकहरुले पुनर्बीमा पाउन छोडेका हुन् । आरओआर अन्तर्गतका जलविद्युत परियोजना प्राकृतिक जोखिमयुक्त रहेको र आयोजनाहरुबाट बर्षैपिच्छे बीमा दाबी भुक्तानी पर्न थालेपछि पुनर्बीमा कम्पनीहरुले बीमा सुविधा उपलब्ध गराउन आनाकानी गर्न थालेका हुन् ।

‘बैंकले यस्ता आयोजनाहरुलाई जति पनि लगानी दिन थालेपछि प्रवद्र्धकहरुले त्यसलाई फाइदाको रुपमा सदुपयोग गर्दै जस्तो ठाउँमा पनि जलविद्युत आयोजना बनाउन थाले,’ एक जलविद्युत प्रवद्र्धकले भने ‘पानी नआउँदा टर्बाइन नघुम्ने, बढी पानी आउँदा बाढीले टर्बाइननै बगाउन थालेपछि रिइन्स्योरेन्स कम्पनीले नेपाली जलविद्युत आयोजनाको बीमा गर्न आनाकानी गर्न थालेका छन् ।’

बर्षैपिच्छे बाढीले जलविद्युत परियोजनामा असर पुर्याउन थालेपछि धेरैजसो पुनर्बीमा कम्पनीले नेपालका आरओआर अन्तरगतका परियोजनाको बीमा गर्न मानेका छैनन् भने गर्न चाहनेले पनि प्रिमियम मूल्य उच्च बढाउन थालेका छन् ।
‘रिइन्स्योरेन्स कम्पनीहरुले पनि नाफा कमाउनकै लागि व्यवसाय गर्नेहुन्,’ एक बीमा कम्पनीका उच्च अधिकारीले भने, ‘तर, नेपालका जलविद्युत आयोजनाहरुले अघिल्लो वर्ष बाढीले बगाएर बीमा दाबी गरेको भुक्तानी नहुँदै अर्कोवर्ष पनि बगाएको दाबी पर्न थाल्यो, जसले गर्दा अहिले रिइन्स्योरेन्स कम्पनीहरु त्यसबाट पन्छिन खोजिरहेका छन् ।’ जसका कारण त्यस्ता आयोजनामा बैंकले गरेको लगानी समेत जोखिममा पर्ने देखिन्छ ।

अहिले बीमा तथा पुनर्बीमा कम्पनीले नेपाली जलविद्युत आयोजनाको बीमा गर्नका लागि उच्च प्रिमियम मागेर बार्गेनिङ गरिरहेकोसमेत सम्बद्ध जलविद्युत प्रवद्र्धकहरु बताउँछन् । ‘बाढी र पहिरोका कारण नेपाली जलविद्युत आयोजनाहरु उच्च जोखिममा भएपछि बीमा कम्पनीहरुले प्रिमियम उच्च बनाएर बीमा गर्ननै आनाकानी गरिरहेका छन्,’ ती प्रवद्र्धकले भने ।

सरकारले हचुवाको भरमा जोसुकैलाई लाईसेन्स दिने र बैंकले पनि कुनै विश्लेषण नगरी प्रवद्र्धकको प्रभावमा परेर लगानी गर्ने हो भने यसले ठूलो समस्या निम्त्याउने चिन्ता जलविद्युत प्रवद्र्धकहरुमा बढ्न थालेको छ । नेपालका धेरैजसो रन अफ दि रिभरमा संचालित परियोजनाहरु हिउँदको समयमा बन्द अवस्थामा छन् । पछिल्लो समयको बदलिदो जलबायु परिवर्तन तथा हचुवाको भरमा आयोजनाहरु निर्माण गर्दा वर्षादको समयमा मात्र विद्युत उत्पादन हुने र हिउँदको समयमा कतिपय आयोजनाहरु नै बन्द अवस्थामा रहेको सम्बद्ध प्रवद्र्धकहरु नै बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्