काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष २०८०/८१ मा आफ्नो कार्यसम्पादन ९८.९९ प्रतिशत रहेको दाबी गरेका छन्। बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मुख्य कार्यसम्पादन सूचकाङ्कसहितको मूल्याङ्कन विवरण पेश गर्दै उनले यो दाबी गरेका हुन्।
मन्त्रिपरिषद्ले २०७८ साउन २५ मा दोस्रो कार्यकालका लागि घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। त्यसपछि २०७८ माघ ५ मा ऊर्जा मन्त्रालय र घिसिङबीच सुधारका विभिन्न सूचकाङ्कसहित कार्यसम्पादन सम्झौता भएको थियो। उनले अघिल्ला दुई आवहरूमा क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत कार्यसम्पादन अंक हासिल गरेका थिए।
प्राधिकरणले गत आवमा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ। २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ नोक्सानीमा रहेको प्राधिकरणले ०७३/७४ मा एक अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै नाफाको इतिहास सुरु गरेको थियो। अहिले प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।
आव २०७२/७३ मा २५.७८ प्रतिशत रहेको विद्युत् चुहावटलाई २०७९/८० मा १३.४६ प्रतिशतमा झारेर गत आवमा १२.७३ प्रतिशतमा झार्न प्राधिकरण सफल भएको छ। यसैगरी, ५८ प्रतिशत मात्र रहेको विद्युतीकरणको अवस्था अहिले ९९ प्रतिशत पुगेको छ।
प्राधिकरणले गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्रसारण र वितरण संरचना सुधार, विद्युतीकरण, ठूला जलविद्युत आयोजना अघि बढाउने, अतिरिक्त विद्युत् निर्यात, र प्रविधिको प्रयोगमार्फत प्रणाली सुधारमा प्राथमिकता दिएको छ।
बर्खायाममा भारततर्फ विद्युत् निर्यात गरेर १७ अर्ब सात करोड रुपैयाँ आम्दानी गरेको प्राधिकरणले गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरेको थियो।
इक्रा नेपालद्वारा गरिएको क्रेडिट रेटिङमा प्राधिकरणले लगातार ‘डबल ए प्लस’ रेटिङ पाउँदै आएको छ, जसले प्राधिकरणको आर्थिक क्षमतामा विश्वास दिलाएको छ।
घिसिङको नेतृत्वमा प्राधिकरणले आर्थिक तथा प्राविधिक सुधारमा निरन्तर सफलता हासिल गर्दै आएको दाबी गरेको छ।