काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले नेपालका लागि थप ६ अर्ब ८० करोड (अमेरिकी डलर ५ करोड) अनुदान सहयोग स्वीकृत गरेको छ। यो अनुदान नेपालमा उच्च गुणस्तरीय पूर्वाधार परियोजनाहरू कार्यान्वयन गर्न र दीर्घकालीन आर्थिक वृद्धि सुनिश्चित गर्न प्रदान गरिएको हो।
एमसिसी परियोजना अन्तर्गत ४०० केभीको डबल सर्किट ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गरिनेछ। यसले नेपालको विद्युत् प्रसारण क्षमतालाई सुदृढ गर्दै काठमाडौंको लप्सीफेदीदेखि नुवाकोटको रातमाटेसम्म सबस्टेसनहरूसँग जोड्नेछ। साथै, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, र नवलपरासी हुँदै भारतको महेशपुरसम्म निर्माण गरिने प्रसारण लाइनले नेपाल–भारतबीच तीन हजार मेगावाट बिजुली आदानप्रदान सम्भव बनाउनेछ।
एमसिसी सञ्चालक समितिले यो अतिरिक्त सहयोग नेपाल सरकार र एमसिसीबीचको साझेदारीलाई अझ सुदृढ पार्दै परियोजनाको सफल कार्यान्वयनका लागि महत्त्वपूर्ण हुने विश्वास लिएको छ। एमसिसीका उपाध्यक्ष क्यामरन अल्फोर्डले नेपालमा रूपान्तरणकारी पूर्वाधार परियोजनाहरू लागू गर्न यो सहयोगले थप प्रभावकारी भूमिका खेल्ने बताएका छन्।
यो अतिरिक्त सहयोग रकमले एमसिसी परियोजनाको सफलता सुनिश्चित गर्न तथा नेपाल–भारत ऊर्जा व्यापारलाई प्रोत्साहन गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।