Logo

पेट्रोलियम पाइपलाइनको असर : बरौनी–अमलेखगञ्ज चल्ने १०४ ट्याङ्कर विस्थापित हुने

पेट्रोलियम पाइपलाइनको असर : बरौनी–अमलेखगञ्ज चल्ने १०४ ट्याङ्कर विस्थापित हुने



काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजना दोस्रो चरणको निर्माण सम्पन्न भएसँगै बरौनी–अमलेखगञ्ज रुटमा पेट्रोल र मट्टितेल ढुवानी गर्दै आएका एक सय चारवटा ट्र्याङ्कर विस्थापित हुने भएका छन्। आयल निगमले अब पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाटै ल्याउने भएपछि यी ट्र्याङ्करको व्यवस्थापन पेचिलो बन्दै गएको छ।

पाइपलाइनमार्फत पेट्रोल र मट्टितेलको नियमित आपूर्ति यही पुस महिनाभित्रै सुरु हुने जनाइएको छ। बरौनीदेखि अमलेखगञ्जसम्म ढुवानी गर्दै आएका तीनवटा संगठनले आफूहरूको उचित व्यवस्थापनका लागि माग राख्दै आएका छन्। ती संगठनहरूले पुस २४ गतेभित्र व्यवस्थापनको पहल नभए आन्दोलनमा जाने चेतावनी दिएका छन्।

अमलेखगञ्जका पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष सुदामाप्रसाद साह कानुले एक सय चार ट्र्याङ्कर तथा ट्रकहरूको उचित व्यवस्थापन गर्नुपर्ने, निजी ढुवानी ट्रकको व्यवस्थापन गर्नुपर्ने र ट्रकधनी व्यवसायीहरूसँग करार सम्झौता गर्नुपर्ने माग गरेका छन्।

‘हामीले आइतबारदेखि आन्दोलन गर्ने कार्यक्रम घोषणा गरेका थियौं। आयल निगमबाट पत्र आएपछि १० दिनका लागि आन्दोलन स्थगन गर्ने निर्णय गरेका हौं,’ उनले भने। अमलेखगञ्ज पेट्रोलियम ढुवानी व्यवसायी संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन इकाइ अमलेखगञ्ज, र नेपाल पेट्रोलियम ट्र्याङ्कर चालक संघ इकाइ अमलेखगञ्जले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए।

नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलङ्कर आचार्यले ढुवानी व्यवसायीले राखेका माग सम्बोधन प्रादेशिक कार्यालयबाट सम्भव नभएको बताए। ‘‘तीनवटा संगठनले गरेका माग हामीले सम्बोधन गर्न सक्ने खालका छैनन्,’’ उनले भने, ‘हामीले केन्द्रीय कार्यालयलाई मागका विषयमा जानकारी गराइसकेका छौं। त्यसैले केही समयका लागि आन्दोलन स्थगन गरिएको हो।’

आचार्यका अनुसार बरौनी–अमलेखगञ्ज रुटमा चल्ने एक सय चार ट्र्याङ्कर प्रयोगविहीन हुने विषयमा केन्द्रीय कार्यालयमा पत्राचार भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्