Logo

बजेट अभावले पाँचखाल औद्योगिक उद्यान निर्माण हुन सकेन, २० करोड बजेट माग, छुट्याइयो जम्मा ४ करोड

बजेट अभावले पाँचखाल औद्योगिक उद्यान निर्माण हुन सकेन, २० करोड बजेट माग, छुट्याइयो जम्मा ४ करोड



काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखालमा ‘प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क’ निर्माण कार्य बजेट अभावका कारण हालसम्म अघि बढ्न सकेको छैन । उद्यान स्थापनाका लागि गत वर्ष अघि बढाइएको थियो ।

वातावरणीय चुनौतीलाई सम्बोधन गर्न र हरित अर्थतन्त्र प्रवद्र्धन गर्ने उद्देश्यले पाँचखाल–७ मा दक्षिण एसियाली महिला विकास मञ्चको अग्रसरतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकासँगको सहकार्यमा उद्यान निर्माण प्रक्रिया अघि बढाइएको थियो । विसं २०८० मङ्सिर २७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसको शिलान्यास गरेका थिए ।

शिलान्यासको करिब एक महिनापछि नगरले उद्यानका लागि भौतिक पूर्वाधार निर्माणार्थ मन्त्रालयसँग २७ करोड माग गरिएको थियो । ‘मन्त्रालयबाट गत वर्ष पनि बजेट आएन, चालु आर्थिक वर्षमा पनि कुनै बजेट छुट्याइएन, यसकारण उद्यानको प्रक्रिया नै थन्किएको छ’, नगरप्रमुख महेश खरेलले भने । उनका अनुसार चालु आवमा नगरले ‘म्याचिङ–फन्ड’का रुपमा उद्यानका लागि ४ करोड छुट्याइएको छ । सरकारसँग उद्यान निर्माण सुरु गर्न यस वर्ष २० करोड बजेट माग गरिरहेकाले म्याचिङ फन्डका लागि उक्त रकम छुट्याएको नगरप्रमुख खरेलले बताए ।

प्रथम हरित महिला औद्योगिक ग्राम स्थापना र विकासका सम्बन्धमा पाँचखाल नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासङ्बीच २०७६ भदौ २० गते सम्झौता भएको थियो । विसं २०८० जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले महिला औद्योगिक ग्राम बनाउन पाँचखालमा निर्माणाधीन उद्यानलाई ‘महिला औद्योगिक ग्राम’ बनाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार नगरले २५ वर्षका लागि करिब पाँच हेक्टर (९८ रोपनी) जग्गा भाडामा उपलब्ध गराएको छ ।

उद्यान निर्माणका लागि कुल ९६ करोड अनुमान गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त परियोजनाका लागि गत वर्ष विनियोजित २ करोडबाट नगरले उद्यानको गुरुयोजना निर्माण र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए), उद्यान निर्माण हुने स्थानमा घेराबार तथा पहुँच मार्ग निर्माण र खानेपानीको व्यवस्थापन गरेको प्रमुख खरेलले बताए । उनका अनुसार भौतिक पूर्वाधार निर्माण सम्पन्न भएपछि उद्योग सञ्चालनार्थ पहिलो चरणमा स्थानीय ७० महिलालाई औद्योगिक तालिमका लागि भारत पठाइनेछ ।

उद्यानभित्र निर्माण हुने संरचना स्थानीयस्तरमा पाइने सामग्रीको प्रयोग गरी भूकम्प प्रतिरोधी बनाउने, उद्योगका लागि पार्कभित्र सेवा केन्द्र, प्रशिक्षण केन्द्र, गोदाम, शीत भण्डार, मार्केटिङ प्लेटफर्म, कृषि उत्पादनको प्याकेजिङ, प्रशोधन, सुकाउने र ग्रेडिङसँग सम्बन्धित मेसिनरी साझा रहने मञ्चले जनाएको छ । मञ्चका अध्यक्ष प्रमिला रिजालका अनुसार उद्यानभित्र वर्षाको पानी सङ्कलन गर्ने, फोहोर व्यवस्थापन, पानीको पुनः प्रयोग गर्न मिल्ने प्रविधि जडान हुनेछभने उद्यानभित्र सडक बत्तीसमेत नवीकरणीय (सौर्य) ऊर्जा प्रयोग हुनेछ ।

उद्यानभित्र महिलाद्वारा सञ्चालित ५० लघु, साना र मझौला उद्योग स्थापना हुनेछन् । नेपाली महिला उद्यमीलाई सहयोग र सशक्तीकरण गर्दै नयाँ प्रविधिसाथ हरित अर्थ व्यवस्थालाई बढावा दिने परियोजनाको मुख्य उद्देश्य हो । यो परियोजना लागू भएपछि महिला उद्यमशीलताको विकास हुनाका साथै र महिलाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । पार्कमा पाँच सयदेखि एक हजार महिला रोजगार एवं उद्योगी बन्नेछन् ।

उद्यानबाट दक्षिण एसियाका सबै मुलुकभित्र हुने उद्योगका सीप, प्रविधि र अनुभव साट्दै पार्कका उत्पादित सामग्री निर्यात गरिने जनाइएको छ । ‘यो नेपाली महिलाको आर्थिक सशक्तीकरणमा दक्षिण एसियामै नमूना हुनेछ, पार्कभित्र प्रविधि, सीप स्थानीय वस्तुको प्रयोगसँगै हरित क्रान्तिको अभियानलाई सफल बनाउन आवश्यक पूर्वाधारहरु तयार गर्नेछौँ’, रिजालले भने ।

उद्यानमा उत्पादित सामानहरुको प्याकेजिङ, ग्रेडिङ तथा प्रशोधनका लागि सीप र प्रविधिको उच्चतम प्रयोग गरी उत्पादित सामग्री निर्यातसँगै नेपालका मुख्य चोक चोकमा हरेक हप्ताको एक पटक हाटबजारका रुपमा बिक्री गर्ने मञ्चको योजना छ । यस्तै, स्थानीयस्तरमै प्राप्त हुने कच्चापदार्थ तीतेपाती, रातोमाटो, सिस्नु, अमला, मह, कोदो, आलुलगायत विभिन्न खालका तरकारी तथा अन्य सामाग्रीको प्रयोग गरिने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्