काठमाडौं । नेपालमा चालु आर्थिक बर्षको पहिलो ५ महिनामा पौने २१ अर्ब रुपैयाँ बढीको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआइ) स्वीकृत भएको छ । चालु आवमा गत आवको सोही अवधिको तुलनामा घटिरहेको यस्तो एफडीआई मंसिरमा भने लयमा आएपछि ५ महिनामै पौने २० अर्ब बराबर पुगेको हो ।
उद्योग विभागले जारी गरेको तथ्यांक अनुसार चालु आवको साउनदेखि मंसिर मसान्तसम्म विभिन्न क्षेत्रका ३ सय १९ परियोजनामार्फत २० अर्ब ७७ करोड ७३ लाख ६३ हजार ४ सय रुपैयाँ बराबरको लगानी स्वीकृत भएको हो ।
यसमध्ये यस अवधिसम्म गत बैशाखमा विभागले संचालनमा ल्याएको स्वचालित मार्गमार्फत २ अर्ब १३ करोड बढीको लगानी प्रतिवद्धता आउँदा रेगुलर रुटमार्फत १८ अर्ब ६४ करोड ७२ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएर स्वीकृत गरिएको हो ।
यस्तै यसमध्ये पनि २७ परियोजनामा भने सेयर पर्चेज एग्रिमेन्ट र सेयर सब्स्क्रीप्सन एग्रिमेन्टमार्फत १ अर्ब ५४ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ ।
विभागका अनुसार चालु आवको मंरिमा भने कुल ५६ परियोजनामार्फत २ अर्ब ११ करोड २२ लाख रुपैयाँ बढीको लगानी प्रतिवद्धता आएको छ ।
विदेशी लगानीकर्ताको आकर्षणमा पर्यटन क्षेत्र
नेपालमा पछिल्लो समय आएको विदेशी लगानी प्रतिवद्धतामध्ये सबैभन्दा बढी लगानी प्रतिवद्धता पर्यटन क्षेत्रमा आएको देखिन्छ । उद्योग विभागको तथ्यांकलाई आधार मान्दा चालु आवको मंसिरसम्म आएको कुल लगानी प्रतिवद्धताको ६२ प्रतिशत अर्थात १२ अर्ब ७६ करोड बढी रुपैयाँ बराबरको लगानी प्रतिवद्धता यो क्षेत्रमा आएको देखिन्छ । यस अवधिसम्म पर्यटन क्षेत्रका १ सय ४५ परियोजनाले उद्योग विभागबाट स्वीकृति पाएका छन् । यस्तै विदेशी लगानीकर्ताको आकर्षणमा रहेको नेपालको लगानी क्षेत्रमध्ये दोस्रोमा सेवा क्षेत्र रहेको छ ।
चालु आवको पहिलो ५ महिनामा सेवा क्षेत्रका ४० परियोजनामार्फत ४ अर्ब ८३ करोड १० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यो चालु आवको हालसम्म आएको कुल लगानी प्रतिवद्धताको २३ प्रतिशत हिस्सा हो ।
यस्तै यसै अवधिमा उत्पादनमुलक क्षेत्रमा कुल लगानीको ९ प्रतिशत, सूचना प्रविधि र कृषि क्षेत्रमा समान ३ प्रतिशत र पूर्वाधार क्षेत्रमा ०.५ प्रतिशत लगानी प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ । विभागका अनुसार यस अवधिसम्म नेपालमा खानीजन्य तथा उर्जामुलक क्षेत्रमा भने विदेशी लगानी आएको देखिँदैन ।
यता विदेशी लगानीका उद्योगको आकारका हिसावले भने यस अवधिमा झण्डै ९९ प्रतिशत लगानी साना उद्योगमो केन्द्रित भएको उद्योग विभागले जानकारी दिएको छ । विभागका अनुसार चालु आवको मंसिर मसान्तसम्म विभागले स्वीकृत गरेका विदेशी लगानीका ३ सय १९ परियोजनामध्ये ३ सय १२ परियोजनाहरु लगानीका हिसावले साना परियोजना छन् । यस अवधिमा विदेशी लगानीकर्ताहरुले जम्मा ३ ठुला र ४ मझौला प्रकृतिका परियोजना विभागमा दर्ता गराएका छन् ।