काठमाडौं । सिमेन्ट उद्योगीहरूले सिमेन्टको मूल्य घटाउने प्रतिबद्धता जनाएका छन्। बुधवार उद्योग मन्त्रालयमा निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीच भएको छलफलपछि यस्तो सहमति भएको हो।
महासंघका अध्यक्ष रवि सिंहका अनुसार, काठमाडौँ उपत्यकामा अब ओपिसी सिमेन्ट ७०० रुपैयाँ र पिसिसी सिमेन्ट ६०० रुपैयाँमा उपलब्ध हुनेछ।
छलफलपछि सञ्चारकर्मीहरूसँग बोल्दै सिंहले भने, ‘सिमेन्ट व्यवसायीहरूले अत्यधिक मूल्य वृद्धि गरेको विषयमा छलफल भयो। भाडा र उत्पादन लागतलाई समायोजन गर्दै मूल्य निर्धारण गर्ने सहमति भएको छ।’
उपत्यकामा सिमेन्टको ढुवानी लागतको हिसाबले फ्याक्ट्रिमा ओपिसी सिमेन्ट ५४० रुपैयाँ पर्न आउने उनले जानकारी दिए। वर्तमानमा ६८० रुपैयाँ रहेको मूल्यलाई समायोजन गर्दै सिमेन्ट व्यवसायीहरूले निर्माण क्षेत्रलाई भार पर्ने गरी मूल्य नबढाउने आश्वासन दिएका छन्।
‘सिमेन्ट उद्योगीहरू धरासायी हुने गरी मूल्य घटाउनु पनि उचित होइन। यसबारे सुझाव दिँदै सबै पक्षलाई स्वीकार्य समाधानका लागि छलफल भयो। यो सहमति स्वागतयोग्य छ,’ सिंहले थपे।
अब काठमाडौँ उपत्यकाका उपभोक्ताहरूले यस निर्णयबाट लाभ पाउने अपेक्षा गरिएको छ।