काठमाडौं । उखुको याम सुरु भएसँगै सर्लाहीका चिनी उद्योगहरू सञ्चालनको तयारीमा जुटेका छन्। जिल्लामा रहेका तीनमध्ये अन्नपूर्ण उखु उद्योगले क्रसिङ सुरु गरिसकेको छ।
धन्कौल चिनी उद्योग, जसले किसानको उखुको पुरानो भुक्तानी नदिएर विवाद निम्त्याएको थियो, अहिले उखु तान्ने काम गरिरहेको छ। विसं २०७४ अघिको भुक्तानी नदिएकाले उद्योग बन्द गरिएको थियो। नयाँ व्यवस्थापनले केही किसानलाई पुरानो भुक्तानी दिएपछि उद्योग फेरि सञ्चालनमा आएको हो।
अन्नपूर्ण उद्योगले मङ्सिर ६ गतेबाट क्रसिङ थालेको र चार दिनमा २६ हजार आठ सय ७१ क्विन्टल उखु क्रसिङ गरेको छ। उद्योगले किसानसँग पुरानो बक्यौता धिरे(धिरे तिर्ने आश्वासन दिएको छ।
धन्कौल गाउँपालिका–३ का विन्देश्वर महतो भन्छन्, ‘मैले थोरै मात्रामा उखु दिएको छु। उद्योगले १५ दिनभित्र भुक्तानी दिने भनेको छ।’
महालक्ष्मी चिनी उद्योगले तीन दिनदेखि उखु सङ्कलन गरेर आजदेखि क्रसिङ सुरु गरेको जानकारी दिएको छ। इन्दुशङ्कर चिनी उद्योगले भने मङ्सिरको अन्तिम साताबाट क्रसिङ सुरु गर्ने तयारी गरिरहेको छ।
किसानले भने समर्थन मूल्य नतोकिएकोमा असन्तुष्टि जनाएका छन्। ‘समयमै मूल्य नतोक्दा हामी अन्योलमा छौँ,’ किसान रवि पाण्डे भन्छन्।
सरकारले किसानलाई सहज वातावरण बनाउन चाँडो समर्थन मूल्य तोक्नुपर्ने किसानहरूको माग छ।