काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंक लाइन विवादका कारण विद्युत महशुल नबुझाएका उद्योगीहरुलाई मंसिर १२ सम्म महशुल बुझाउन ताकेता गरेको छ । प्राधिकरणले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार हालसम्म बुझाउन बाँकी रहेको बक्यौता तिर्न ताकेता गरेको हो ।
‘नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत आपूर्ति लिएका उद्योगहरूको बक्यौता महसुल असुली सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८१/०७/२५ को बैठक र नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको मिति २०८१/०७/२७ को ९८७ औं बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको छ,’ सूचनामा भनिएको छ ।
उक्त महशुल वितरण केन्द्रहरुबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ बैशाखसम्म टीओटी मिटरमा रेकर्ड भएको डिमाण्ड तथा टी१, टी२, टी३, टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बीलका आधारमा गर्नुपर्नेसमेत सुचनामा उल्लेख गरिएको छ । उक्त महशुल सरकारी निर्णयअनुसार नै १५ दिनभित्र अर्थात मंसिर १२ सम्म नबुझाए नियमानुसार कारबाही हुने प्राधिकरणले जानकारी दिएको छ ।