Logo

ड्राइ फ्रुट्समय बन्दै तिहार, ३ महिनामै भित्रियो झण्डै साढे १ अर्बको ड्राइ फ्रुट्स, ओखर मात्रै ३७ करोडको आयात

ड्राइ फ्रुट्समय बन्दै तिहार, ३ महिनामै भित्रियो झण्डै साढे १ अर्बको ड्राइ फ्रुट्स, ओखर मात्रै ३७ करोडको आयात



काठमाडौं । नेपालमा आयातीत धेरैजसो वस्तुहरु सिजनल (मौसमी) हुन्छन् । अर्थात आयात हुने प्राय वस्तुहरु सिजन हेरेर सोही बमोजिम कम वा बढी आयात हुने गरेको वैदेशिक व्यापारको तथ्यांकले देखाउँछ । अहिले चाडबाडको सिजन हो । यस्तो बेलामा चाडबाडमा आवश्यक वस्तुहरु नै धेरै आयात हुने गरेका छन ।

दशैं सकिएलगत्तै नेपालमा तिहारको रौनक सुरु हुन्छ । नेपालमा तिहारमा नै सबैभन्दा बढी दैनिक उपभोग्य सामग्रीहरु विक्री हुने गरेका व्यापारीहरु बताउँछन् । अझ यसबेला माला बनाउन फूल, उपहार दिन खानेकुरा र अन्य उपहारका सामग्रीहरु, नयाँ लत्ताकपडा, बहुमूल्य धातु बढी नै विक्री हुने गरेको छ । तिहारमा सबैभन्दा बढी उपभोग गरिने वस्तुको पहिलो स्थानमा भने भाईमसाला (ड्राइ फ्रुट्सको प्याकेज)को महत्व उच्च नै हुन्छ ।

नेपालमा उपभाेग हुने धेरैजसो ड्राइफ्रुट्सहरु भने विदेशबाट आयात हुने गरेको छ । चालु आर्थिक बर्षको पछिल्लो ३ महिनामा मात्रै नेपालमा झण्डै १ अर्ब ३७ करोड रुपैयाँ बराबरको ड्राइफ्रुट्स आयात भएको देखिन्छ । यो गत आर्थिक बर्षको तुलनामा भने करिव ९ करोड रुपैयाँले बढी हो । गत आर्थिक बर्षको पहिलो ३ महिनामा नेपालमा १ अर्ब २७ करोड रुपैयाँ बराबरको ड्राइ फ्रुट्स आयात भएको थियो ।

नेपालमा खासगरी ओखर, बदाम, पीस्ता, अंजिर, काजु, किसमीसलगायतका ड्रराइफ्रुट्सहरु अत्याधिक आयात हुने गरेका छन् । चालु आवको ३ महिना अर्थात साउनदेखि असोज मसान्तसम्म नेपालमा यस्ता ड्राईफ्रुट्सहरु ८४ लाख ४४ हजार किलो आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

तथ्यांक अनुसार यस अवधिमा ३७ करोड ६५ लाख रुपैयाँ बराबरको ओखर, ३१ करोड ६४ लाख रुपैयाँ बराबरको नरिवल, १९ करोड रुपैयाँ बराबरको अलमोन्ड बदाम, १२ करोड १८ लाख रुपैयाँ बराबरको सुपारी, ११ करोड ९२ लाख रुपैयाँ बराबरको काजु र ९ करोड रुपैयाँ बराबरको किसमीस आयात भएको देखिन्छ ।

यस्तै नेपालमा यसबाहेक १ करोड ९८ लाख रुपैयाँ बराबरको ताजा बोक्रासहितको काजु, १ करोड ५४ लाख रुपैयाँ बराबरको एप्रिकट, १ करोड ३९ लाख रुपैयाँ बराबरको अंजिर आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । यसबाहेक नेपालमा खजुर, अन्य प्रकारका ओखरहरु, सुकाईएको सुन्तला, स्याउलगायतका ड्रराईफ्रुट्सहरु पनि आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

तथ्यांकले नेपालमा उत्पादन हुने धेरैजसो फलफूलहरुलाई पनि विदेशबाट आयात हुनेगरेको तथ्य बाहिर ल्याएको छ । नेपालमा धेरैजसो उत्पादन हुने सुन्तलालाईसमेत सुकाएर विदेशबाट आयात गर्ने गरिएको तथ्यांकमा देखिन्छ । चालु आवको ३ महिनामा मात्रै १ करोड १९ लाख रुपैयाँ बरबरको खजुर आयात हुँदा १९ करोड ४० लाख रुपैयाँ बराबरको सुकाएको र ताजा सुन्तला आयात भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्