Logo

३ महिनामा १६ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता, पर्यटन क्षेत्रमा उत्साह कायमै

३ महिनामा १६ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता, पर्यटन क्षेत्रमा उत्साह कायमै



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ३ महिनामा नेपालमा १६ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आवको साउन, भदौ र असोजमा मात्रै २ सय ४ परियोजनामार्फत १६ अर्ब ४४ करोड १३ लाख ४४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो ।

विभागका अनुसार यस अवधिमा आएको लगानी प्रतिवद्धतामध्ये गत बैशाखदेखि कार्यान्वयनमा आएको अटोमेटिक रुटबाट ७३ परियोजनामार्फत १ अर्ब १ करोड ३५ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ । यस्तै विभागमै पुगेर लिईने स्वीकृति प्रक्रियाअन्तर्गत १ सय ३१ परियोजनामार्फत १५ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको देखिन्छ ।

असोजमै आयो साढे ३ अर्बको लगानी प्रतिवद्धता

गएको असोज महिनामा मात्रै विभिन्न परियोजनामार्फत ३ अर्ब ४५ करोड ६५ लाख ५६ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको उद्योग विभागले जानकारी दिएको छ । विभागका अनुसार यस अवधिमा २१ परियोजनामार्फत १५ करोड १० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता अटोमेटिक रुटमार्फत आएको छ । यस्तै यसै अवधिमा रेगुलर प्रक्रियाअन्तर्गत ३४ परियोजनामार्फत ३ अर्ब ३० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ ।

पर्यटन क्षेत्रमा उत्साह कायमै

पछिल्ला केहि बर्षदेखि नेपालमा आउने विदेशी लगानी प्रतिवद्धतामध्ये पर्यटन क्षेत्रमा उच्च आकर्षण हुँदै आएको छ । खासगरी विदेशी लगानीकर्ताहरुले नेपालको पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेकै कारण सेवा क्षेत्र पनि सोही अनुसार फस्टाईरहेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

चालु आवको ३ महिनामा नेपालमा दर्ता भएका विदेशी लगानीका परियोजनामध्ये ९३ परियोजना अर्थात कुल परियोजनाको ७१ प्रतिशत परियोजना पर्यटनसम्बद्ध छन् । यी परियोजनामार्फत पछिल्लो ३ महिनामा ९ अर्ब ९० कारोड अर्थात कुल लगानी प्रतिवद्धताको ६४ प्रतिशत प्रतिवद्धता आएको देखिन्छ ।

यस्तै नेपालमा धेरै परियोजना र प्रतिवद्धता भित्र्याउने दोस्रो क्षेत्रमा सेवाक्षेत्र छ । यो क्षेत्रमा पनि पछिल्लो ३ महिनामा १८ परियोजनामार्फत ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको देखिन्छ । यस्तै यसै अवधिमा उत्पादनमुलक क्षेत्रमा १२ परियोजनामार्फत १ अर्ब ७ करोड, कृषि क्षेत्रका २ परियोजनामार्फत ५८ करोड र सूचना प्रविधि क्षेत्रमा ५ परियोजनामार्फत १७ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको देखिन्छ ।

यद्यपी नेपालमा विदेशी लगानीकर्ताले गर्ने प्रतिवद्धताको तुलनामा औसतमाा ३५ प्रतिशत मात्रै लगानी भित्रिने गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्