Logo

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले दिए बाढीपीडितका लागि १ करोड ११ लाख रुपैयाँ सहयोग

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले दिए बाढीपीडितका लागि १ करोड ११ लाख रुपैयाँ सहयोग



काठमाडौं । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ रूपैयाँ सहयोग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अध्यक्ष गुरुङ दम्पतीले प्राकृतिक विपत्ति उद्धार कोषमा जम्मा हुने गरी एक करोड, ११ लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

सोमबार गुरुङ दम्पतीले उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरेको प्रधानमन्त्री ओलीले फेसबुक मार्फत जानकारी दिएका छन् । प्रधानमन्त्रीले लेखेका छन्, ‘विदेशबाट फर्के लगत्तै व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भयो। उहाँहरुले बाढी पहिरो पीडितको राहतका लागि एक करोड, ११ लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक दिनु भयो। उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको छ। मीनबहादुर गुरुङको परिवारलाई धन्यवाद ।’

बाढी पहिरोका कारण जनसँगै अर्बौको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व पनि भएको गुरुङले बताएका छन् । गुरुङले यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माणका लागि ४१ करोड बराबरको सहयोग गरेका छन् । उक्त अस्पताल अहिले निर्माणाधीन अवस्थामा छ ।

अघिल्लो वर्ष जाजरकोट भूकम्पपछि उनीहरुको उद्धार र राहतका लागि गुरुङले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका थिए । त्यसबाहेक ८० लाख बराबरको खाद्यान्न उक्त क्षेत्रमा पठाएका थिए । कोभिडका बेला पनि संघीय सरकारसहित सातै प्रदेशमा उनले सहयोग हस्तान्तरण गरेका थिए । त्यसअघि २०६८ सालमा त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका थिए । ११ करोड लागतमा इमर्जेन्सी भवन बनाइदिएका थिए भने ईएचएस भवन १५ करोड लागतमा तयार पारिदिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्