Logo

अविरल बर्षाले हालसम्म १६ जलविद्युत आयोजनामा क्षति, ६६२ मेगावाट विद्युत उत्पादन प्रभावित

अविरल बर्षाले हालसम्म १६ जलविद्युत आयोजनामा क्षति, ६६२ मेगावाट विद्युत उत्पादन प्रभावित



काठमाडौं । गत हप्ताको बिहिबार रातिदेखि शनिबार दिउँसोसम्म परेकाे अविरल बर्षाले दर्जन बढी जलविद्युत गृह क्षतिग्रस्त बनेका छन् । उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले आईतबार एक विज्ञप्ति जारी गर्दै १६ आयोजनाहरु विद्युत उत्पादन हुनै नसक्नेगरी क्षतिग्रस्त भएको जानकारी दिएको हो । यसरी हालसम्मको विवरणअनुसार १६ जलविद्युत आयोजनामा क्षति पुग्दा ६६२.५९ मेगावाट बिद्युत उत्पादन नै प्रभावित भएको देखिन्छ ।

जसमा मान्डू हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत आयोजना, मकवानपुरको पावर हाउस नै पूर्ण रुपमा डुबेको बताईएको छ । यस्तै माउन्टेन हाइड्रो, २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला, पाँचथर पावरद्वारा प्रवद्र्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजा र साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजना क्षतिग्रस्त भएका छन् । यी आयोजनाहरु कुनै पुर्णरुपमा डुबानमा परेका छन् भने कसैको हेडवक्र्स र पावरहाउसमा क्षति पुगेको छ ।

यता ३ मेगावाटको माइखोला क्यासकेड ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजना, १ मेगावाटको फेमे खोला जलविद्युत आयोजना, ५ मेगावाटको सिउरीखोला जलविद्युत आयोजना, ४० मेगावाटको सुपरन्यादी जलविद्युत आयोजना, २५ मेगावाटको इलेप खोला तातोपानी जलविद्युत आयोजनालगायतमा क्षति पुगेको देखिन्छ ।

यस्तै अविरल बर्षाकै कारण २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना, १० मेवाको हेवाखोला जलविद्युत आयोजना, १५.१ मेवाको सभाखोला बी जलविद्युत आयोजना, ६.३ मेवाको सभाखोला सी जलविद्युत आयोजना, ८६.५९ मेवाको लान्द्रुक मोदी जलविद्युत आयोजना, र १०० मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजनामा क्षति पुगेको छ । यस्तै कतिपय जलविद्युत आयोजनामा सञ्चारसम्पर्क विच्छेद भएकाले सबै आयोजनाको विवरण अझै प्राप्त हुन नसकेको पनि इप्पानले जानकारी दिएको छ ।

कुन आयोजनामा कति क्षति ?

  • मान्डू हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत आयोजना, मकवानपुर (पावर हाउस पूणर्रुपमा डुबेको)
  • माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना, पाँचथर (गत वर्षको बाढीबाट पनि प्रभावित, पावर हाउस डुबानमा परेको)
  • पाँचथर पावरद्वारा प्रवद्र्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजा, पाँचथर (गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनँःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त)
  • साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजना, सोलुखुम्बु (हेडवक्र्समा क्षति, उत्पादन बन्द)
  • सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजना, इलाम (बाँध र टेलरेसमा क्षति, उत्पादन बन्द)
  • सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजना, इलाम (बाँध र प्रसारणलाइनमा क्षति)
  • फेमे खोला जलविद्युत आयोजना १ मेगावाट, पाँचथर, (बाँध र विद्युतगृह पूणर्रुपमा क्षति)
  • सिउरीखोला जलविद्युत आयोजना ५ मेगावाट, लमजुङ, (टेलरेस, इन्टेक र टनेलमा क्षति)
  • सुपरन्यादी जलविद्युत आयोजना, ४० मेगावाट, लामुजुङ, (पहुँचमार्गमा क्षति, प्रोटेक्सन वालमा क्षति)
  • इलेप खोला तातोपानी जलविद्युत आयोजना, २५ मेगावाट, धादीङ, (पहुँचमार्गमा ठूलो क्षति)
  • माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना २१६ मेगावाट, नुवाकोट, (क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको)
  • हेवाखोला जलविद्युत आयोजना, १० मेगावाट, पाँचथर (क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको)
  • सभाखोला बी जलविद्युत आयोजना, १५.१ मेगावाट, पाँचथर, (पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको)
  • सभाखोला सी जलविद्युत आयोजना, ६.३ मेगावाट, पाँचथर, (पहुँचमार्गमा क्षति)
  • लान्द्रुक मोदी जलविद्युत आयोजना, ८६.५९ मेगावाट, कास्की, (पहुँचमार्गमा क्षति)
  • सुपर त्रिशूली जलविद्युत आयोजना, १०० मेगावाट, नुवाकोट (२ वटा स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको, बेलीब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएको)

प्रतिक्रिया दिनुहोस्