Logo

नेपालमा वैदेशिक लगानी : २८ बर्षमा साढे ४ खर्ब प्रस्ताव, भित्रियो जम्मा साढे १ खर्ब

नेपालमा वैदेशिक लगानी : २८ बर्षमा साढे ४ खर्ब प्रस्ताव, भित्रियो जम्मा साढे १ खर्ब



काठमाडौं । नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानीकाे प्रस्ताव र भित्रिने रकमबीचकाे फरक ६५ प्रतिशत रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गतको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदन अनुसार नेपालमा हालसम्म आएको प्रत्यक्ष वैदेशिक लगानीको प्रस्तावको तुलनामा भित्रिने खुद रकम जम्मा ३५ प्रतिशत मात्रै हुने गरेको उल्लेख छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा पछिल्ला २८ आर्थिक बर्षको प्रत्यक्ष वैदेशिक लगानीको प्रस्ताव र भित्रिएको खुद लगानीको विश्लेषण गरिएको छ । जसअनुसार हरेक बर्षको प्रस्ताव र भित्रिएको खुद विदेशी लगानीलाई औसतमा हिसाव गर्दा लगानी प्रस्तावको ३५ प्रतिशत मात्रै भित्रिने गरेको पाईएको हो ।

यी २८ बर्षमा प्रस्तावको तुलनामा सबैभन्दा बढी आर्थिक बर्ष २०७३/७४ मा ८८.८ प्रतिशत खुद लगानी भित्रिएको देखिन्छ । उक्त बर्ष उद्योग विभागमा विभिन्न देशका लगानीकर्ताहरुले लगानीका लागि १५ अर्ब २० करोड रुपैयाँ बराबरको प्रस्ताव गरेका थिए । सोही बर्ष नेपाल राष्ट्र बैंकमार्फत खुद वैदेशिक लगानी शिर्षकमा १३ अर्ब ५० करोड रुपैयाँ भित्रिएको देखिन्छ ।

यता प्रस्तावको तुलनामा सबैभन्दा न्युन लगानी भित्रिने आर्थिक बर्षमा भने २०५७/५८ छ । उक्त आर्थिक बर्ष लगानी प्रस्तावको तुलनामा ऋणात्मक खुद वैदेशिक लगानी आय भएको देखिन्छ । उक्त आवमा उद्योग विभागमार्फत विदेशी लगानीकर्ताहरुले ३ अर्बको लगानी प्रस्ताव गरेपनि भित्रिने लगानी भने ऋणात्मक भएको थियो ।

राष्ट्र बैंकका नयाँ सर्वेक्षण प्रतिवेदनलाई आधार मान्दा अघिल्लो आर्थिक बर्ष २०७९/८० सम्म नेपालमा ४ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएको छ । तर त्यसमध्ये नेपाल राष्ट्र बैंकमार्फत भने जम्मा १ खर्ब ५४ अर्ब ९५ करोड रुपैयाँ मात्रै खुद लगानी भित्रिएको देखिन्छ । यो प्रस्तावित लगानीको ३५ प्रतिशत मात्रै हो ।

नेपालमा आर्थिक वर्ष २०७९÷८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले वृद्धि भई २ खर्ब ९५ अर्ब ५० करोड रुपैयाँ कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२.८ प्रतिशत, सञ्चिति ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ ।

यसै गरी, २०८० असार मसान्तसम्ममा नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् १ खर्ब ३ अर्ब ४५ करोड (३५ प्रतिशत) र त्यसपछि क्रमशः चीनबाट ३५ अर्ब ४६ करोड (१२ प्रतिशत), आयरल्याण्डबाट २२ अर्ब ६२ करोड

(७.७ प्रतिशत), अष्ट्रेलियाबाट १९ अर्ब ६ करोड (६.४ प्रतिशत) र सिङ्गापुरबाट १८ अर्ब ८१ करोड (६.४ प्रतिशत) प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसै गरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिन्छ ।
प्रदेशगत आधारमा नेपालमा रहेका प्रत्यक्ष लगानीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५९.७ प्रतिशत रहेको देखिन्छ ।

त्यसपछि क्रमशः गण्डकी प्रदेशमा १५.१ प्रतिशत, कोशी प्रदेशमा १४.७ प्रतिशत, मधेश प्रदेशमा ८.८ प्रतिशत रहेको छ भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL