Logo

निजी क्षेत्रलाई काम गर्ने अवसर नदिई दिगो आर्थिक विकास सम्भव छैन : अध्यक्ष ढकाल

निजी क्षेत्रलाई काम गर्ने अवसर नदिई दिगो आर्थिक विकास सम्भव छैन : अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई स्वतःस्फुर्त रुपमा काम गर्न नदिईकन दिगो आर्थिक विकास सम्भव नहुने बताएका छन् । महासंघले आयोजना गरेको दिगो विकासका लागि नीतिगत सुधार नामक अन्तरक्रिया कार्यक्रममा आफ्नो विचार राख्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालभन्दा आर्थिक हिसावले केहि बर्षअघि सम्म कमजोर रहेका मुलुकहरुको उदाहरण दिँदै अब नेपालले पनि उदार नीति लिएर निजी क्षेत्रलाई भरपुर काम गर्ने मौका दिनुपर्ने बताए ।

‘विगत दुइ बर्षदेखि निजी क्षेत्र संकुचित छ । उद्योगहरु ४० प्रतिशत हाराहारीमात्रै चलेका छन् । ८६ प्रतिशत रोजगारी दिने निजी क्षेत्र संकुचित हुँदा स्वभाविक रुपमा रोजगारीका अवसर भएनन्,’ उनले भने, ‘त्यसैले निजी क्षेत्र फस्टाइरहेका देशमा काम गर्ने मान्छेहरुको माग भयो । हामीले यहाँ रोजगारी दिन सकेनौ उहाँहरु ती देशहरुमा गईरहनु भएको छ । हामी फस्टाएको भए युवाहरु यही काम गर्नुहुन्थ्यो होला ।’

उनले हाल कोरिया, बंगलादेश, कम्बोडियालगायतका देशको प्रतिव्यक्ति आय पनि नेपालको तुलनामा बढेको बताउँदै उक्त देशहरुमा निजी क्षेत्रलाई काम गर्न दिईएकै कारण यस्तो सम्भव भएको बताए ।

पछिल्लो तीन दशकमा नेपालको औसत आर्थिक वृद्धिदर चार प्रतिशत वा सो भन्दा तल रहेको छ । तर यो अवधिमा केही बर्ष अर्थतन्त्रको निक्कै तिव्र विस्तार पनि भएको छ । उदाहरणका लागि आर्थिक बर्ष २०५१–५२ मा ७।६ प्रतिशतको आर्थिक वृद्धि भएको थियो ।

त्यो २०४८ पछिको उदारीकरणको कारणले सम्भव भएको उनको भनाई थियो । २०५७ मा पनि आर्थिक वृद्धि ६ प्रतिशत हाराहारी पुगेको थियो । द्धन्दको समयमा निर्वाचन भै शान्ति प्रक्रिया शुरु हुने अपेक्षाका साथ उक्त वृद्धि हासिल भएको थियो । त्यसपछि २०६२–६३ को आन्दोलन पछि निर्वाचनका समयमा पनि ६ प्रतिशत वृद्धि सम्भव भयो ।

त्यसपछि उच्च आर्थिक वृद्धिका लागि भण्डै डेढ दशक लाग्यो । संविधान जारि भएपछिका तीन बर्षको औसत वृद्धि ७.५ प्रतिशत थियो । त्यो हालसम्मकै उच्च वृद्धिको समय थियो ।

यी सबै घटनाक्रममा एउटा बिषय साझा छ । त्यो यी समयमा राजनीतिक सुधारको अपेक्षा, नीतिगत स्थायित्व थियो । जसले निजी क्षेत्रलाई लगानी बढाउन मदत गरेपछि पूँजी निर्माणमा वृद्धि भएपछि आर्थिक वृद्धिमा उच्चतम वृद्धि आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्