Logo

मझौला उद्योगको प्रवर्द्धन नगरी अर्थतन्त्रमा सुधार आउँदैन, यसमा सरकारको सहयोग आवश्यक छ : उपाध्यक्ष ढकाल

मझौला उद्योगको प्रवर्द्धन नगरी अर्थतन्त्रमा सुधार आउँदैन, यसमा सरकारको सहयोग आवश्यक छ : उपाध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत परिषद्का सभापति एवं महासंघका उपाध्यक्ष हेमराज ढकालले साना तथा मझौला उद्योगहरुको प्रवद्र्धनमा सरकारको प्रत्यक्ष सहयोग आवश्यक रहेकोमा जोड दिएका छन् ।

नेपाल हाते कागज संघले बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति ढकालले हाते कागज जस्ता साना तथा मझौला उद्योगीहरुका समस्यामा राज्यले अली बढी संरक्षण दिनुपर्ने आवश्यकता औंल्याएका हुन् ।
ऋणको सहज पहुंच र सहुलियत कर्जाको व्यवस्था, तालीमको व्यवस्था, इकमर्श प्ल्याटफर्ममा जोडिन सहुलियत लगायतमा राज्यको सहयोग साना मझौला उद्योगले खोजेको बताउँदै उनले सरकारले अभिभावकीय भूमिका निर्वाह गरिदिनुपर्ने बताए ।

विशेष गरी पहाडी तथा हिमाली जिल्लाका महाभारत श्रृंखला र त्यसको उत्तरी भेगका पांच हजार फिटदेखि माथिको उचाईमा चिसो, ओसिलो र अरु रुखको छहारी भएको ठाउंमा पाइने लोक्ता यस उद्योगको मुख्य कच्चा पदार्थ रहेको र हाल यसको अभाव देखिन थालेको उद्यमीहरु बताउंछन् ।

हाते कागजको अन्तराष्ट्रिय बजारमा उच्च माग रहेको छ । देशभर यसमा काम गर्ने करिव ५ सय उद्योग संचालनमा छन् स्वदेश तथा विदेशी बजारमा करिव वार्षिक २ अर्व जतिको नेपाली हाते कागज खपत हुदै आएको छ । प्रत्यक्ष ५० हजार र अप्रत्यक्ष लाखौको जीवनसंग जोडिएको यस्तो व्यवसाय संरक्षण गर्न राज्यको भूमिका अलि बढी आवश्यक रहेको ढकालको भनाई छ ।
‘अहिले स्वदेशी उत्पादनको ठाउंमा त्यस्तै प्रकारका भारतीय कागज प्रयोग भैरहेको गुनासो रहेको छ,’ उनले भने, ‘चोरी पैठारी नियन्त्रणका लागि भने हामीले स्वदेशी तथा साना उद्योगहरुको सम्वर्धनलाई विशेष ध्यान दिनुपर्छ ।’

उनले कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीलाई यस्ता उद्योगको प्रवद्र्धनमा सक्दो सहयोग गरिदिन आग्रह गरे ।

आन्तरिक उत्पादनलाई खपतमा पहिलो प्राथमिकता दिएमात्र उद्योग फस्टाउने छन् । १५ देखि २० प्रतिशतसम्म महंगो भएपनि स्वदेशी उत्पादनै खरिद गरी प्रयोग गर्नुपर्ने सरकारी नीति छिट्टै कार्यान्वयनमा ल्याउन उनले आग्रह गरे ।

वर्तमान सरकारले निजी क्षेत्रका समस्या तथा आर्थिक विषय वस्तुलाई अलि बढी गम्भीरतापूर्वक लिएको हो कि भन्ने आभाष निजी क्षेत्रले गरेकाले उद्योग व्यवसायका समस्या समाधान गरी विश्वासमा परिणत गर्न अनुरोध गरे ।

पूजीको अभाव अहिले यस क्षेत्रका लागि मुख्य समस्याको रुपमा रहेको छ । सरकारले दिंदै आएको सहुलियत ऋण अहिले दिन छोडेकाले उक्त सुविधा निरन्तरता हुन पनि उनको जोड थियो । दक्ष जनशक्तिको अभाव अर्को समस्या छ । जनशक्ति विकासमा राज्यको मुख्य भूमिका निजी क्षेत्रले खोजेको सभापति ढकालले स्पष्ट पारे ।

सरकारले नेपाली कागजको अधिकतम प्रयोग गर्ने उपाय बढाउनुपर्ने छ । सर्टिफिकेट नागरिकता तथा अन्य सरकारी काम तथा गिफट लगायतमा हाते कागजको प्रयोग बढाउन सके यो उद्योग फस्टाउन सक्ने उनको सुझाव थियो ।

हाते कागज उद्योगीहरुले समय र लागत अनुसारको मुल्य नपाएको गुनासो पनि छ । कच्चा पदार्थ अभाव हुंदै गएको कुरा आएका छन् । उद्योगले कच्चा पदार्थको रुपमा प्रयोग गर्ने ब्लीचिङ पाउडर र कास्टिङ सोडा लगायतको मुल्य बढ्दा समस्या भएको कुरा आएका छन् यस्ता ससाना समस्या समाधान हुन सके उद्यमीहरुले आफना क्षेत्रमा राम्रो काम गर्न सक्ने धारणा उहांले सो अवसरमा राखे ।

मुुलुुकभित्र साना तथा मझौला उद्योग व्यवसाय फस्टाउन सकेमात्र ठूला उद्योग, वाहय लगानी, प्रविधि, पूजी आउने बिचार उनले अन्तरक्रियामा राखे ।

माननीय वन मन्त्री ठकुरीले हाते कागज उद्योगका समस्या समाधानमा आफ्नो मन्त्रालयकातर्फबाट सहयोग रहने विश्वास दिलाए ।

कार्यक्रममा नेपाल हाते कागज संघका अध्यक्ष किरण डंगोल, निर्यातसंग सम्बन्धित वस्तुगत संघका अध्यक्षहरुले हाते कागज प्रवद्र्धन, मुलुकको पछिल्लो निर्यात अवस्था लगायतमा आआफना धारणाहरु राखेका थिए । कार्यक्रममा महासंघको कार्यकारिणी समिति(वस्तुगत)का सदस्यहरुको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्