Logo

गत बर्ष नेपालले गर्याे ३६ देशसँग नाफाको व्यापार, कुन देशबाट कति नाफा ?

गत बर्ष नेपालले गर्याे ३६ देशसँग नाफाको व्यापार, कुन देशबाट कति नाफा ?



काठमाडौं । नेपालले बर्षाैंदेखि वैदेशिक व्यापारमा घाटाको व्यापार गरिरहेको जगजाहेरै छ । यस्तो व्यापारघाटा कहिलेकसो त नेपालको बजेट बराबर नै पुग्छ । गएको आर्थिक बर्ष २०८०/८१ भर नेपालले १४ खर्ब ४० अर्ब रुपैयाँ बराबरको घाटा व्यहोरेको छ । यस्तो घाटा खासगरी नेपालका छिमेकी मुलुक चीन र भारतसँग अत्याधिक नै हुने गरेको छ ।

खुला सिमाना र व्यापार सहजीकरणका कारण यी दुई देशसँग मात्रै गत आर्थिक बर्षभरी २ खर्ब ९६ अर्ब र ८ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ ।

नेपालले गत आर्थिक बर्षभरी कुल १ सय ७० देशसँग वैदेशिक व्यापार गरेको छ । त्यसमध्ये १ सय ३४ देशसँग भने नेपालले घाटाको व्यापार गरेको छ । तर, जम्मा ३६ देशसँग मात्रै नाफाको व्यापार गरेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

यसरी गत आर्थिक बर्ष नाफाको व्यापार भएका ३६ देशबाट नेपालले ५५ करोड ७३ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यस्तै यी देशहरुमा नेपालले उक्त अवधिमा १ अर्ब ८९ करोड रुपैयाँ बराबरको निर्यात व्यापार गरेको देखिएको छ । अर्थात यी देशहरुसँग नेपालले गत आर्थिक बर्षमा मात्रै १ अर्ब ३३ करोड रुपैयाँ बराबरको व्यापार नाफा आर्जन गरेको छ ।

यस अवधिमा नेपालले सबैभन्दा बढी नाफाको व्यापार भने युरोपेली मुलुक डेनमार्कसँग गरेको छ । यो देशसँग नेपालले गत आर्थिक बर्षभरी ४६ करोड ७५ लाख रुपैयाँ बराबरको व्यापार नाफा गर्दा अर्काे देश अफगानिस्तानसँग उक्त अवधिमा ४६ करोड ६० लाख रुपैयाँ बराबरको नाफाको व्यापार गरेको हो ।

भन्सार विभागका अनुसार गत आर्थिक बर्षमा नर्वेसँग १५ करोड ३३ लाख, सुडानसँग ३ करोड ४२ लाख, मौरीटानियासँग ३ करोड ५ लाख, लाट्भीयासँग २ करोड ५७ लाख, आइसल्याण्डसँग २ करोड ५२ लाख र न्यु क्यालेडोनिया २ करोड ४७ लाख रुपैयाँ बराबरको नाफाको व्यापार भएको छ ।

यस्तै नेपालले माल्दीभ्स, मौरीसस, फीजी, क्रोयशिया, माल्टा, जर्जीया, उरुग्वे, लेबनान, पानामा, किर्गीस्तान, बर्मुडालगायतका देशसँग पनि नाफाको व्यापार गरेको छ ।

गत आर्थिक बर्ष नेपालले घाटाको व्यापार गरेका प्रमुख देशमा भने भारत र चीनसँगै दुबई, युक्रेन, मलेसीया, अस्ट्रेलिया, अर्जेन्टीना, फ्रान्सलगायतका देश छन् । नेपालले घाटाको व्यापार गरेका १ सय ३४ देशसँग १४ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्