Logo

कोलम्बोमा सार्क चेम्बरको बैठक सम्पन्न, प्राथमिकतामा अन्तरदेशीय व्यापार

कोलम्बोमा सार्क चेम्बरको बैठक सम्पन्न, प्राथमिकतामा अन्तरदेशीय व्यापार



काठमाडौं । श्रीलंकाको कोलम्बोमा सार्क चेम्बर अफ कमर्सको ८३ औं कार्यकारी समितिको बैठक तथा २७ औं साधारणसभा सम्पन्न भएको छ । सार्क चेम्बरको अध्यक्ष जस्मीन उद्धिनको अध्यक्षतामा सम्पन्न बैठक र साधारणसभामा नेपालका उद्योगी तथा सार्क चेम्बरका उपाध्यक्ष चण्डी राज ढकाल पनि उपस्थिती भएका छन् ।

बैठकमा क्षेत्रीय बैठक, महिला उद्यमी परिषद र युवा उद्यमी परिषदका क्रियाकलापहरुलाइ पनि थप शसक्त बनाउँदै लैजाने बिषयमा छलफल भएको थियो । बैठककै अवधिमा श्रीलंका चेम्बर अफ कमर्शको आयोजनामा ३ दिने दक्षिण एशिया व्यापार मेला २०२४ पनि सम्पन्न भएको छ । उक्त व्यापार मेलाको श्रीलंकाली प्रधानमन्त्री दिनेश गुणवर्धन, सार्क चेम्बरका महासचिव गोलम सरवार, सार्क चेम्बरका अध्यक्ष जस्मीन उद्धिनले संयुक्त रुपमा उक्त मेलाको उद्घाटन गरेका थिए ।

उद्घाटन सत्रमा प्रधानमन्त्ती गुणवर्धन क्षेत्रीय व्यापार सहकार्य बढाउनका लागि उद्योग क्षेत्रमा नयाँ अन्वेषण तथा उत्पादनको आवश्यकता रहेको बताए । यो फोरमले दक्षिण एशियाली मुलुकमा एकअर्कासँग व्यापार सहजीकरणसँगै सहकार्यलाई विशेष जोड दिने बताए । यसले दक्षिण एशियाली मुलुकहरुका लागि निर्यात वृद्धि गर्ने माध्यमको रुपमा काम गरिरहेको बताएका छन् ।

कार्यक्रममा सार्क चेम्बरका महासचिव सरवारले क्षेत्रीय लक्ष्यहरु पूरा गर्नका लागि दक्षिण एशियाली मुलुकहरुका सरकारले पनि अन्तरराष्ट्रिय व्यापार सहजीकरणमा विशेष जोड दिनुपर्ने बताए । कार्यक्रममा उपस्थित अन्य उच्च पदस्थ पदाधिकारीहरुले
क्षेत्रीय व्यापार सहजीकरणका लागि बढ्दो चुनौतिहरुलाई आत्मसात गर्दै सोहीअनुसारको समइाको न्युनीकरणतर्फ जोड दिएका थिए ।

बैठककै क्रममा ‘लगानी सहकार्य तथा व्यापार सहजीकरण, एडभान्सीङ द सार्क एजेन्डा’ नामक व्यापार सम्मेलन पनि आयोजना गरिएको थियो । उक्त सम्मेलनको उद्घाटन सत्रमा श्रीलंकाका परराष्ट्र मन्त्रीलगायतले उद्घाटन गरेका थिए । सम्मेलनको प्यानल छलफलमा भने सार्क सीसीआई नेपाल च्याप्टर उपाध्यक्ष चण्डीराज ढकाललगायत सहभागि थिए ।

प्यानल छलफलको क्रममा सार्क उपाध्यक्ष ढकालले सिनो सार्क आर्थिक सम्बन्धले सार्क राष्ट्रहरुबीचको सम्बन्ध उचाईमा पुर्याएको बताए । उनले व्यापार असन्तुलनको वकालत, गहिरो सहकार्यको प्रवद्र्धन र बढ्दौ चुनौतिहरुको न्युनीकरणले सार्क राष्ट्रहरुबीचको सम्बन्धलाई भविष्यमा थप बजबुत बनाउने बताए । नेपाल एक रणनीतिक लोकेसन भएकाले यसमा अझै शसक्त भूमिका खेल्न सक्ने उनको भनाई थियो ।

कार्यक्रममा सम्बोधन गर्दै सार्क सीसीआई नेपाल च्याप्टरका कार्यकारी सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले चिनियाँ र अनय दक्षिण एशियाली मुलुकका व्यापार व्यवसायीसँगको सहकार्यले धेरै अवसरहरु सिर्जना गरिदिएको बताए । यससँगै यसले विद्युतीय भुक्तानी प्रणाली, आपुर्ति प्रणाली, इकमर्श, पूर्वाधार, पर्यटन, हरित पूर्वाधार तथा उद्योगमा हुने लगानीलाई थप वृद्धि र विकासमा सहयोग पुग्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्