Logo

चन्द्र ढकालको नेतृत्वमा स्थापना भयो १० अर्बको ‘नेपाल इन्भेष्टमेन्ट’ कम्पनी, संचालकमा चुनिए ४ जना

चन्द्र ढकालको नेतृत्वमा स्थापना भयो १० अर्बको ‘नेपाल इन्भेष्टमेन्ट’ कम्पनी, संचालकमा चुनिए ४ जना



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आइएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा १० अर्बको ‘नेपाल इन्भेष्टमेन्ट कम्पनी’ स्थापना भएको छ । विशेषगरी नेपालमा ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले नेपाल इन्भेष्टमेन्ट कम्पनी स्थापना गरिएको हो ।

देशका सम्पूर्ण उद्योगी व्यवसायीले लगानी गर्न पाउनेगरी महासंघका अध्यक्ष ढकालको नेतृत्वमा उक्त कम्पनी स्थापना भएको हो । नेपालमा पूर्वाधारमा लगानी जुटाउने उद्देश्य सहित ढकालले महासंघको ढोरपाटमा भएको कार्यसमिति बैठकबाट १० अर्बको इन्भेष्टमेन्ट कम्पनी खोल्ने उद्घोष गरेका थिए । सोही अनुरुप उनले सम्पूर्ण निजी क्षेत्रलाई समेट्ने गरी उक्त कम्पनी स्थापना गरेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

उक्त कम्पनीको संचालकमा नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटा र आध्यन्ताका अध्यक्ष तथा नेपाल उद्याेग वाणिज्य महासंघकाे लगानी तथा अन्तरराष्ट्रिय मामिला फाेरमका सभापति मनोज पौडेल संचालकमा चयन भएका छन् ।

विशेषगरी सम्पूर्ण उद्योगी व्यवसायीको लगानी जुटाएर नेपालमा पर्यटन, कृषि, जलविद्युत तथा पूर्वाधार विकासमा लगानी गर्ने उद्देश्यक अनुरुप उक्त कम्पनी खडा गरिएको उक्त स्रोतले जानकारी दिएको छ । सोही अनुरुप नेपालका सम्पूर्ण निजी क्षेत्रको प्रनिधित्व हुने गरी संचाल समिति समेत चयन गरिएको छ ।

उक्त स्रोतका अनुसार कम्पनीको जारी पुँजी १० अर्ब हुने छ भने तत्कालका लागि १ अर्ब रुपैयाँ चुक्ता जुटाईने छ । यसैगरी उक्त कम्पनीको प्राथमिक सेयर जारी गरेर सर्वसाधारणको समेत लगानी जुटाईने एक संचालकले जानकारी दिए । ‘यस कम्पनीमार्फत राष्ट्र निर्माणमा सबैको अपनत्व हुनेगरी पुँजी जुटाईने छ,’ ती संचालकले भने, ‘जसबाट देशले पूर्वाधार विकासमा गति लिनुका साथै लगानीकर्ताले समेत उच्च मुनाफा पाउनेछन् ।’

प्रतिक्रिया दिनुहोस्